Premier Cables

राजनीति

कांग्रेस महाधिवेशन: ७ हजार ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज १६, २०८३  | साँझ ४:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। प्राकृतिक विपद्का कारण दुई दिन ढिला हुन लागेको महाधिवेशन आगामी असोज १८ गते काठमाडौंको खुलामञ्चमा उद्घाटन हुने भएको छ।

कांग्रेसका प्रवक्ता तथा १५औँ महाधिवेशन सूचना, सञ्चार तथा प्रविधि समितिका संयोजक देवराज चालिसेले महाधिवेशनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्।

विज्ञापन

देश तथा विदेशबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आउने क्रम सुरु भइसकेको उनले बताए। महाधिवेशन तयारीका लागि गठित १५ वटा समितिले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेका छन्।

उद्घाटन समारोहका लागि खुलामञ्चमा मञ्च निर्माणको काम तीव्र रूपमा भइरहेको छ। खुलामञ्चमै बन्द सत्र सञ्चालनका लागि छुट्टाछुट्टै हल तयार पारिँदैछ। कार्यक्रमस्थलमा मिडिया सेन्टर र प्राथमिक स्वास्थ्य उपचार केन्द्रसमेत स्थापना गरिने कांग्रेसले जनाएको छ।

सात हजार ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने

केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशनमा ७ हजार ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। कांग्रेसको इतिहासमै पहिलोपटक यति ठूलो संख्यामा महाधिवेशन प्रतिनिधि निर्वाचित भएको दाबी गरिएको छ।

प्रतिनिधिहरूले असोज १८ गते उद्घाटन समारोह, १९ र २० गते बन्द सत्र तथा २१ र २२ गते निर्वाचन प्रक्रियामा सहभागी हुनेछन्। निर्वाचनको विस्तृत कार्यक्रम केन्द्रीय निर्वाचन समितिले तयार गरिरहेको छ।

आवासको व्यवस्था विभिन्न क्षेत्रमा

महाधिवेशन प्रतिनिधिको आवास व्यवस्थापनका लागि हरेक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक–एक जना संयोजक तोकिएको कांग्रेसले जनाएको छ। प्रतिनिधिहरूको आवासका लागि एयरपोर्ट, गौशाला, सुन्धारा, ठमेल, लाजिम्पाट, कलंकी र नयाँ बसपार्क क्षेत्रमा होटल तथा अन्य व्यवस्था गरिएको छ।

आवास र कार्यक्रमस्थलसम्मको आवतजावत खर्च भने सहभागी स्वयंले व्यहोर्ने व्यवस्था गरिएको छ। प्रतिनिधिहरूलाई आवाससम्बन्धी जानकारी ह्वाट्सएप, एआई नम्बर तथा एसएमएसमार्फत उपलब्ध गराइने जनाइएको छ।

प्रतिनिधिका लागि बिहान, दिउँसो र साँझको भोजनको व्यवस्था भने भृकुटीमण्डपमा गरिएको छ।

विपद्का कारण प्रचारप्रसारमा तामझाम नगर्ने

हालैका प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएको अवस्थालाई ध्यानमा राख्दै महाधिवेशनमा प्रचारप्रसारका नाममा अनावश्यक तामझाम नगर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ।

कार्यक्रमस्थलमा एउटा मूल गेटबाहेक अन्य प्रचार सामग्री शहर तथा बजार क्षेत्रमा नराखिने बताइएको छ। असोज १५ गतेदेखि काठमाडौं उपत्यका तथा देशका प्रमुख शहरमा रहेका करिब १०० डिजिटल बोर्डमार्फत महाधिवेशनसम्बन्धी सूचना तथा सन्देश प्रवाह गर्न थालिएको छ।

महाधिवेशनमा उम्मेदवार बन्ने नेताहरूलाई समेत प्रचारप्रसारका लागि डिजिटल माध्यम प्रयोग गर्न पार्टीले आग्रह गरेको छ।

विभिन्न दलका शीर्ष नेता उद्घाटनमा सहभागी हुने

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको छ।

कांग्रेसका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई तथा राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम पौडेल उद्घाटन कार्यक्रममा सहभागी हुने निश्चित भएको छ।

अन्तर्राष्ट्रिय अतिथिका रूपमा सोसलिष्ट इन्टरनेशनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा नेपाल आइसकेको कांग्रेसले जनाएको छ। अन्य अन्तर्राष्ट्रिय अतिथिको सहभागिता सुनिश्चित गर्ने प्रक्रिया जारी रहेको बताइएको छ।

महाधिवेशनबारे दैनिक पत्रकार सम्मेलन

महाधिवेशनसम्बन्धी सूचना नियमित रूपमा उपलब्ध गराउन कांग्रेसले अब दैनिक पत्रकार सम्मेलन गर्ने भएको छ। भोलिदेखि कार्यक्रमस्थलमै स्थापना गरिने मिडिया सेन्टरबाट पत्रकार सम्मेलन सञ्चालन गरिने प्रवक्ता चालिसेले जानकारी दिए।

उनले महाधिवेशनसम्बन्धी समाचार सम्प्रेषणका लागि निरन्तर सहयोग गरिदिन सञ्चारकर्मीहरूलाई आग्रह गरेका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka