Premier Cables
Premier Steel

खेलकुद

एनपीएलका २८ खेलका १० मुख्य आकर्षण: सन्दीपको ६ विकेटदेखि पोखराको कीर्तिमानी रनसम्म

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक ३०, २०८३  | अपराह्न ३:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको लिग चरणका २८ खेल सम्पन्न भएका छन् । आठ टोली सहभागी प्रतियोगितामा चार टोली प्लेअफमा पुग्दा चार टोलीको यात्रा लिग चरणमै समाप्त भएको छ ।

यस संस्करणमा साविक विजेता लुम्बिनी लायन्सको उपाधि रक्षा अभियान, सुदूरपश्चिम रोयल्सको निरन्तरता, विदेशी स्टारको आगमन र नेपाली खेलाडीका व्यक्तिगत कीर्तिमान मुख्य आकर्षण बने ।

विज्ञापन

प्रतियोगिताका १० प्रमुख पक्ष यसप्रकार छन् ।

१. लुम्बिनी लायन्स लिग चरणको शीर्ष स्थानमा

साविक विजेता लुम्बिनी लायन्सले सात खेलबाट ११ अंक जोड्दै लिग चरण पहिलो स्थानमा सकाएको छ । पाँच खेल जितेको लुम्बिनी चितवनसँगको खेल वर्षाका कारण रद्द भएपछि अंक बाँड्न बाध्य भएको थियो । काठमाडौं गोर्खाजसँग मात्रै पराजित भएको लुम्बिनीले सामूहिक प्रदर्शनका आधारमा शीर्ष स्थान सुरक्षित गरेको हो ।

२. सुदूरपश्चिम लगातार तेस्रोपटक प्लेअफमा

सुदूरपश्चिम रोयल्स तीनवटै संस्करणमा प्लेअफ पुग्ने पहिलो तथा एकमात्र टोली बनेको छ । सात खेलमा पाँच जित निकाल्दै १० अंक जोडेको सुदूरपश्चिम यसपटक दोस्रो स्थानमा रह्यो । यसअघिका दुई संस्करणमा फाइनल पुगे पनि उपाधि जित्न नसकेको टोली यसपटक पहिलो उपाधिको खोजीमा छ ।

३. डेभिड वार्नरको आगमनले बढायो एनपीएलको आकर्षण

अस्ट्रेलियाका पूर्वकप्तान तथा चर्चित ब्याटर डेभिड वार्नरको सहभागिताले काठमाडौं गोर्खाजको चर्चा बढायो । वार्नरको आगमनपछि काठमाडौंले लगातार चार खेल जितेको थियो । उनले लिग चरणमा चार खेल खेलेर अस्ट्रेलिया फर्किए पनि उनको सहभागिताले प्रतियोगिताको अन्तर्राष्ट्रिय आकर्षण बढाएको थियो ।

४. पोखरा एभेन्जर्स फेरि प्लेअफबाहिर

चर्चित विदेशी खेलाडी अनुबन्ध गरे पनि पोखरा एभेन्जर्सले यसपटक पनि प्लेअफमा स्थान बनाउन सकेन । तीनवटै संस्करणमा प्लेअफ पुग्न नसक्ने एकमात्र टोली पोखरा बनेको छ । पाँच खेलमा पराजित भएको पोखराले कर्णाली याक्स र काठमाडौं गोर्खाजलाई मात्र हराउन सक्यो । यद्यपि, ब्याटिङमा भने पोखराले कीर्तिमानी प्रदर्शन गर्‍यो ।

५. कुशल भुर्तेल शतक बनाउन एक रनले चुके

काठमाडौं गोर्खाजविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले ५१ बलमा ९९ रन बनाए । उनले आठ चौका र आठ छक्का प्रहार गरेका थिए । शतकका लागि एक रन आवश्यक हुँदा करण केसीको बलमा स्मित पटेलबाट क्याचआउट भए । भुर्तेल र युवराज सम्राबीच १८६ रनको साझेदारी भएको खेलमा पोखराले २२४ रन बनाउँदै ५५ रनको जित निकालेको थियो ।

६. सन्दीप लामिछानेको ह्याट्रिकसहित ६ विकेट

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले पोखरा एभेन्जर्सविरुद्ध ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए । उनले १५औँ ओभरमा लगातार तीन बलमा तीन विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए । एनपीएलमा एकै खेलमा ६ विकेट लिने उनी तेस्रो खेलाडी बने । संयोगवश, यसअघि ६ विकेट लिने शाहब आलम र विलियम बोसिस्टोले पनि पोखराविरुद्ध नै उक्त उपलब्धि हासिल गरेका थिए ।

७. युवराज सम्रा शतक बनाउने खेलाडी

पोखराका क्यानडेली ओपनर युवराज सम्राले कर्णाली याक्सविरुद्ध १०२ रन बनाउँदै यस संस्करणको पहिलो शतक प्रहार गरे । उनी एनपीएलमा शतक बनाउने पोखराका तेस्रो तथा समग्रमा चौथो खेलाडी बने । चार इनिङ्समा २९४ रन बनाएका सम्रा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहे ।

८. राहुल यादवको उत्कृष्ट उदय

जनकपुर बोल्ट्सका १७ वर्षीय तीव्र गतिका बलर राहुल यादव यस संस्करणका चर्चित युवा खेलाडी बने । सात खेलमा १२ विकेट लिएका उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा चितवनका कमलसिंह ऐरी र रिजन ढकालसँगै अगाडि रहे । अन्तर्राष्ट्रिय स्टारको उपस्थितिबीच राहुलले आफ्नो बलिङ क्षमताबाट दर्शकको ध्यान खिचे ।

९. डीआरएस प्रविधिको प्रयोग

नेपाली फ्रेन्चाइज क्रिकेटमा पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रयोग हुनु यस संस्करणको अर्को विशेषता रह्यो । अम्पायरको निर्णयमा असन्तुष्ट खेलाडीले प्रविधिको सहायताबाट निर्णय चुनौती दिन पाउने व्यवस्था गरिएको थियो । प्रतियोगिताका क्रममा करिब दुई दर्जन निर्णय प्रविधिको प्रयोगबाट उल्टिएका थिए । यसले खेलमा प्रविधिको भूमिका र अम्पायरका निर्णयबारे समेत चर्चा बढायो ।

१०. वार्नरदेखि रसेलसम्मका अन्तर्राष्ट्रिय स्टार

यस संस्करणमा अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, इंग्ल्यान्डका मोइन अली र रवि बोपारा, दक्षिण अफ्रिकाका डेभिड मिलर, न्युजिल्यान्डका जिमी निशम, बंगलादेशका शाकिब अल हसन तथा श्रीलंकाका एन्जेलो म्याथ्युज र निरोशन डिकवेलालगायत खेलाडी सहभागी भए ।

अन्तर्राष्ट्रिय स्तरका खेलाडीको उपस्थितिले प्रतियोगिताको आकर्षण बढाउनुका साथै नेपाली खेलाडीलाई उनीहरूसँगै खेल्ने र अनुभव साटासाट गर्ने अवसर प्रदान गर्‍यो ।

यसरी एनपीएलको तेस्रो संस्करणको लिग चरणमा टोलीगत प्रतिस्पर्धासँगै व्यक्तिगत प्रदर्शन, नयाँ प्रतिभाको उदय र प्रविधिको प्रयोगले विशेष चर्चा पाए । अब सबैको ध्यान प्लेअफ र उपाधि प्रतिस्पर्धातर्फ केन्द्रित भएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka