फायल फोटो
विराटनगर । नेपाली कांग्रेसले पार्टीलाई सुदृढ बनाउँदै सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने उद्देश्यसहित आजदेखि ‘हामी तयार छौँ’ अभियान सुरु गर्दैछ।
पार्टीको आत्मसमीक्षा, वैचारिक स्पष्टता, दस्तावेज निर्माण र प्रतिपक्षी भूमिकाको कार्ययोजना तयार पार्ने लक्ष्यसहित अभियान सञ्चालन गर्न लागिएको कांग्रेसले जनाएको छ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रका कमजोरी सुधार गर्दै संगठनलाई सशक्त बनाउन अभियान सुरु गर्न लागिएको बताए। उनले सकारात्मक प्रतिपक्षी भूमिका निर्वाह गर्न स्पष्ट योजना आवश्यक रहेको उल्लेख गरे।
पार्टीलाई कमजोर बनाउने हल्ला र कानेखुसीमा नलाग्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै पौडेलले आपसी सहकार्य र समन्वयबाट मात्रै संगठन बलियो बन्ने बताए।
उनका अनुसार अभियानमार्फत पार्टीको वर्तमान अवस्थाको समीक्षा गर्दै आगामी राजनीतिक तथा संगठनात्मक कार्यदिशा तय गरिनेछ।
यसैबीच, मंसिरभित्र जिल्ला र प्रदेश अधिवेशन तथा स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिने कांग्रेसको योजना छ। अभियानको विस्तृत खाकासहितको सर्कुलर छिट्टै प्रदेश र जिल्ला तहमा पठाइने महामन्त्री पौडेलले जानकारी दिए।
