विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ को क्षेत्रीय अधिवेशन सञ्चालन गर्ने विषयलाई लिएर विवाद उत्पन्न भएको छ। क्षेत्रीय सभापतिले आफू पदमा बहाल रहेकै अवस्थामा अर्को व्यक्तिलाई संयोजक तोकेर अधिवेशन सञ्चालन गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्।
क्षेत्रीय सभापति देवराज तामाङले आज (शुक्रबार) मोरङको गछियामा पत्रकार सम्मेलन आयोजना गरी आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनअनुसार पार्टी विधान, स्थापित परम्परा र लोकतान्त्रिक प्रक्रियाअनुसार अधिवेशन सञ्चालन हुनुपर्नेमा त्यसलाई बेवास्ता गर्दै एकपक्षीय रूपमा प्रक्रिया अघि बढाउन खोजिएको छ। उनले विधि र विधानभन्दा माथि कुनै व्यक्ति वा समूह हुन नसक्ने बताएका छन्।
एकपक्षीय रूपमा गरिएको वा गराउन खोजिएको अधिवेशनलाई वैधानिक तथा स्वीकार्य अधिवेशनका रूपमा मान्यता दिन नसकिने स्पष्ट पारेका छन्। उनका अनुसार अधिवेशन निश्चित व्यक्ति वा समूहको स्वार्थ पूरा गर्ने माध्यम नभई सम्पूर्ण क्रियाशील सदस्यको सहभागिता, सहमति, पारदर्शिता र लोकतान्त्रिक अभ्यासको साझा मञ्च हुनुपर्छ।
‘पार्टीभित्र उत्पन्न विवादलाई संवाद, सहमति र विधिसम्मत प्रक्रियाबाट समाधान गर्नुपर्नेमा जिम्मेवार व्यक्तिहरूबाटै विवाद थप जटिल बनाउने अवस्था सिर्जना भएको छ,” उनले भने । विवाद समाधान गर्नुपर्ने जिम्मेवारीमा रहेका व्यक्तिबाटै विवाद बढाउने परिस्थिति निर्माण हुनु पार्टीको हितमा नरहेको उनले बताएका छन्।
यसैबीच, नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री डा. डिला संग्रौलाको भूमिकामाथि समेत क्षेत्रीय सभापतिले प्रश्न उठाएका छन्। मोरङ क्षेत्र नं. ६ मा उत्पन्न वर्तमान विवादमा संग्रौलाको पहल तथा भूमिकाको कारण रहेको उनको दाबी छ। उनले पार्टीभित्रको समस्या समाधान गर्नुपर्ने नेतृत्वबाटै विवाद बढ्ने अवस्था सिर्जना हुनु दुःखद् भएको बताए ।
तामाङका अनुसार यो विषय कुनै व्यक्ति विशेषको पद वा प्रतिष्ठासँग मात्र सम्बन्धित छैन। पार्टीको विधि, विधान, लोकतान्त्रिक संस्कार र संगठनात्मक मर्यादा जोगाउने विषय भएकाले यसलाई गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ छ।
उनले पार्टी नेतृत्व, सम्बन्धित पदाधिकारी तथा कांग्रेसका कार्यकर्तालाई व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर विधान, लोकतान्त्रिक मूल्य र संगठनको हितलाई केन्द्रमा राखी विवाद समाधान गर्न आग्रह गरेका छन्।
अधिवेशनलाई विवाद र विभाजनको माध्यम नभई सहमति, एकता र लोकतान्त्रिक अभ्यासको अवसर बनाउनुपर्नेमा उनले जोड दिएका छन्।
विधि र विधानविपरीत ढंगबाट अधिवेशन अघि बढाइए न्यायिक उपचारको बाटो अवलम्बन गर्ने चेतावनीसमेत उनले दिएका छन्। आवश्यक परे सम्बन्धित अदालतमा गई न्याय र वैधानिक प्रक्रियाको मागसहित कानुनी उपचार खोजिने उनको भनाइ छ।
क्षेत्रीय सभापतिले मोरङ क्षेत्र नं. ६ का कांग्रेसजन, क्रियाशील सदस्य, शुभेच्छुक तथा सञ्चारकर्मीलाई विवादलाई कुनै गुट वा व्यक्तिबीचको विवादका रूपमा मात्र नहेरी पार्टीको विधि, विधान र लोकतान्त्रिक पद्धतिको संरक्षणसँग जोडेर बुझ्न आग्रह गरेका छन्।
उनले मोरङ क्षेत्र नं. ६ को अधिवेशन पार्टी विधान, स्थापित प्रक्रिया, सबै पक्षको सहभागिता र निष्पक्ष वातावरण सुनिश्चित गरेर मात्र सम्पन्न हुनुपर्ने बताएका छन्। विधि मिचेर गरिने कुनै पनि एकपक्षीय गतिविधिप्रति असहमति रहने र आवश्यक वैधानिक तथा कानुनी कदम चालिने उनको चेतावनी छ।
