Premier Cables

कोशी प्रदेश

मोरङ ६ को कांग्रेस अधिवेशनमा किन भयो कुटाकुट, संस्थापन र इतरका नेता के भन्छन् ?

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज १४, २०८३  | साँझ ५:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनका क्रममा बुधबार भएको झडपमा पूर्वप्रदेश सांसद तथा महासमिति सदस्य चुमनारायण तवदारसहित तीन जना गम्भीर घाइते भएका छन् ।

सुन्दरहरैँचा–४ स्थित सिग्देल बन्धु प्रतिष्ठानमा मनोनयन दर्ता तथा अधिवेशन उद्घाटन कार्यक्रम चलिरहेका बेला कांग्रेसको संस्थापन र इतर पक्षका कार्यकर्ताबीच कुटाकुट भएको हो ।

विज्ञापन

झडपमा क्षेत्रीय सभापतिका दाबेदार तवदार, नेपाल तरुण दलका समुन्द्र (सुलभ) पोखरेल र चेतराज रेग्मी घाइते भएका छन् । फलामको रड तथा भाटा प्रहारबाट टाउको र शरीरमा चोट लागेका तीनै जनाको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घटनापछि कांग्रेस केन्द्रीय सहमहामन्त्री डा. डिला संग्रौला र क्षेत्रीय सभापति देवराज (देबु) तामाङबीच आरोप–प्रत्यारोप चर्किएको छ ।

सहमहामन्त्री संग्रौलाले क्षेत्रीय सभापति तामाङकै प्रत्यक्ष संलग्नता र योजनामा आफ्ना पक्षका नेता–कार्यकर्तामाथि आक्रमण भएको आरोप लगाएकी छन् । कार्यक्रममा प्रमुख अतिथिका रूपमा पुगेकी संग्रौलाले आफूलाई समेत आक्रमणको प्रयास भएको र एक कार्यकर्ताको मोटरसाइकलमा चढेर घटनास्थलबाट जोगिएको दाबी गरेकी छन् ।

संग्रौलाका अनुसार निर्वाचन अधिकृतले सूचना टाँस गरिसकेको अवस्थामा केही व्यक्तिले सूचना च्यात्ने प्रयास गरेका थिए । त्यसपछि विवाद बढ्दै जाँदा फलामका भाटा निकालेर आफ्ना पक्षका नेता–कार्यकर्तामाथि आक्रमण गरिएको उनको दाबी छ ।

उनले गाडीमा रहेका पूर्वसांसद तवदारलाई ‘यही हो उम्मेदवार’ भन्दै बाहिर निकालेर कुटपिट गरिएको बताइन् । संग्रौलाले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेकी छन् ।

यता, क्षेत्रीय सभापति तामाङले भने घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । उनले संग्रौलाकै कारण विवाद बढेको र त्यसपछि झडपको अवस्था सिर्जना भएको आरोप लगाए ।

तामाङका अनुसार वडा अधिवेशन तथा नयाँ क्रियाशील सदस्यता वितरणका क्रममा केही व्यक्तिको जिम्मेवारी मौखिक रूपमा खोसिएको विषयमा पहिलेदेखि नै असन्तुष्टि थियो । प्रमुख अतिथि संग्रौला समयमा नआउँदा कार्यकर्तामा थप आक्रोश बढेको उनको दाबी छ ।

कार्यकर्ताले अधिवेशन रोक्न दबाब दिएपछि आफूले सबैलाई आफ्ना कुरा राख्न ‘फ्लोर ओपन’ गर्न आग्रह गरेको तर त्यसक्रममा मञ्चमा तोडफोड र कुर्सी हानाहान भएको तामाङले बताए । निर्वाचन अधिकृतहरूलाई सुरक्षित स्थानमा पठाएर आफू कार्यक्रमस्थलबाट बाहिरिएको उनको भनाइ छ ।

तामाङले संग्रौलाको पक्षमा उम्मेदवार छनोट गर्ने क्रममा देखिएको विवादले पनि झडपको वातावरण बनेको दाबी गरेका छन् । उनले घाइतेहरूको अवस्थाबारे आफूलाई विस्तृत जानकारी नभएको र आफूले सुरुमा सामान्य कुर्सी हानाहान मात्रै भएको ठानेको बताए ।

कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया चलिरहेका बेला मोरङ क्षेत्र नम्बर ६ मा भएको यो घटनापछि क्षेत्रीय अधिवेशनको निर्वाचन प्रक्रिया अन्योलमा परेको छ । घटनापछि दुवै पक्षबीच तनाव कायमै रहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka