Premier Cables

विराटनगर

विराटनगरमा तास खेलिरहेको अवस्थामा पक्राउ परेका व्यक्तिको हिरासतमा मृत्यु

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज १३, २०८३  | अपराह्न १२:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । तास खेलिरहेको अवस्थामा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइराला रहेका छन् । हिरासतमा रहेका कोइराला मंगलबार बिहान करिब ७ः३० बजे अचेत अवस्थामा भेटिएपछि तत्काल उपचारका लागि कोशी अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो ।

विज्ञापन

नोबेल शिक्षण अस्पतालमा उपचारकै क्रममा मंगलबार बिहान करिब ११ बजे चिकित्सकले कोइरालालाई मृत घोषणा गरेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनका अनुसार कोइरालाको शव हाल नोबेल अस्पतालमै राखिएको छ ।

प्रहरीका अनुसार विराटनगर–६ सरोचियास्थित लालु पासवानको घरमा तास खेलिरहेको अवस्थामा कोइरालासहित आठ जनालाई सोमबार राति पक्राउ गरिएको थियो । राति करिब ११ः३० बजे पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको थियो ।

हिरासतमा सँगै रहेका साथीहरूले मंगलबार बिहान चिया खान उठाउन खोज्दा कोइराला नबोलेपछि प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि उनलाई तत्काल अस्पताल लगिएको डीएसपी मिश्रले बताए ।

प्रहरीका अनुसार कोइरालाको यसअघि टाउकाको शल्यक्रिया भएको पाइएको छ । उनी यसअघि पनि तास खेलिरहेको अवस्थामा पक्राउ परेको प्रहरीको भनाइ छ । यद्यपि, उनको मृत्युको कारण भने तत्काल खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसै घटनामा प्रहरीबाट भाग्ने क्रममा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखिया दुई तला माथिबाट हामफाल्दा घाइते भएका थिए । उनको दाहिने खुट्टा भाँचिएको छ । मुखियाको विराटनगरस्थित श्री अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्स चालकसमेत रहेका उनको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।

प्रहरीका अनुसार लालु पासवानको घरमा तास खेलिरहेका व्यक्तिहरू प्रहरीको गस्ती टोलीलाई देखेपछि भागेका थिए । रातको समयमा होहल्ला गर्दै मानिसहरू भागिरहेको देखेपछि प्रहरी घटनास्थल पुगेको थियो । त्यसक्रममा तास खेलिरहेका आठ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कोइराला र मुखियासहित धनपालथान गाउँपालिका–६ का ३३ वर्षीय साजन राजवंशी, विराटनगर–४ का ५२ वर्षीय सत्यनारायण राजवंशी, ४८ वर्षीय तोरण यादव, विराटनगर–६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल र ४३ वर्षीय विष्णु कामत रहेका छन् ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट तासका साथै ४८ हजार ३ सय ९५ रुपैयाँ नगद बरामद गरेको जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka