Premier Cables

राजनीति

सरकार निरंकुश शैलीमा अघि बढेको कांग्रेस सांसद ढुंगानाको आरोप

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज १२, २०८३  | अपराह्न ३:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले वर्तमान सरकार निरंकुश शैलीमा अघि बढिरहेको आरोप लगाएका छन् । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बिना पुर्जी मध्यरातमा पक्राउ गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

सांसद ढुंगानाले जबराको गिरफ्तारीलाई पञ्चायती शासनको पुनरावृत्तिको संज्ञा दिँदै कानुनी शासनको उपहास भइरहेको दाबी गरे । उनले पूर्वप्रधानन्यायाधीशको गिरफ्तारीसहित पछिल्ला समसामयिक घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग गरे ।

विज्ञापन

बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको अवस्थाबारे पनि सरकार गम्भीर नदेखिएको उनको आरोप थियो । ‘जिरो आवर’मा सांसदहरूले उठाएका विषयको समेत सुनुवाइ नभएको भन्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए ।

ढुंगानाले सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा हुकुमी शासन लाद्न खोजेको आरोप लगाए । लोकतन्त्रमा समेत पञ्चायतकालकै शैलीमा बिना जानकारी पक्राउ गर्ने अवस्था देखिनु चिन्ताजनक भएको उनको भनाइ थियो ।

उनले सरकारलाई संसद् र जनताप्रति उत्तरदायी बन्न आग्रह गर्दै लोकतन्त्र र संविधानको रक्षाका लागि नेपाली जनता तथा युवा पुस्ता बलिदान दिनसमेत तयार रहेको बताए । सरकार निरंकुशतातर्फ अघि बढिरहे त्यसले देशलाई गम्भीर दुर्घटनातर्फ धकेल्न सक्ने उनले चेतावनी दिए ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka