विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिको नयाँ नेतृत्व चयन प्रक्रियाअन्तर्गत उपसभापतिमा शुभाशिष कोइराला र सचिवमा वीरेन्द्रप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन समितिले तोकेको समयसीमाभित्र दुवै पदमा एक-एक जनाको मात्र उम्मेदवारी परेकाले उनीहरू सर्वसम्मत छानिएका हुन्।
उपसभापतिमा निर्वाचित कोइराला युवा समाजसेवीका साथै विराट गोल्डकपका सहसंयोजक हुन् भने सचिवमा निर्वाचित यादव पनि स्थानीय सामाजिक तथा संस्थागत क्षेत्रमा सक्रिय छन्।
यसैबीच, महानगर समितिको सभापति पदका लागि भने प्रतिस्पर्धा हुने भएको छ। सभापतिमा कृष्णबहादुर कार्की र केशव गिरीबीच भिडन्त हुनेछ। कार्कीको प्रस्तावकमा भोजराज निरौला र समर्थकमा पंकज घिमिरे छन् भने गिरीको प्रस्तावकमा पर्शुराम कटुवाल र समर्थकमा शम्भु चौधरी रहेका छन्।
त्यस्तै, महिला उपसभापति पदमा श्रुती शर्मा र कृष्णाकुमारी साहको उम्मेदवारी परेको छ। शर्माको प्रस्तावक गौरव भट्टराई र समर्थक अभिषेक भट्टराई रहेका छन्।
नेपाली कांग्रेस मोरङका जिल्ला सभापति डिगबहादुर लिम्बूका अनुसार नयाँ कार्यसमिति चयनका लागि मङ्गलबार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ। त्यसअघि सोमबारसम्म क्षेत्रीय अधिवेशन सम्पन्न गरिनेछ।
कोशी प्रदेशको एकमात्र महानगरपालिका तथा ऐतिहासिक राजनीतिक केन्द्र भएकाले विराटनगर कांग्रेसको यो अधिवेशन र नयाँ नेतृत्व चयनलाई स्थानीय राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
