विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु भएसँगै मोरङ क्षेत्र नम्बर २ ‘ख’ प्रदेश सभा सभापतिमा गोपाल खड्काले आफ्नो दाबी प्रस्तुत गरेका छन्।
वर्तमान कार्यसमितिका उपसभापतिसमेत रहेका खड्काले आगामी असोज ९ गते हुने प्रदेश अधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका छन्। कानेपोखरी गाउँपालिका–२ निवासी खड्का लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहँदै आएका छन्।
असोज ३ र ४ गते सम्पन्न वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि तथा वडा सभापतिसँग समन्वय गर्दै आफूले प्रदेश ‘ख’ को सभापति पदमा दाबी प्रस्तुत गरेको खड्काले बताएका छन्।
मोरङ क्षेत्र नम्बर २ मा २९ वटा वडा रहेका छन्। तीमध्ये प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ मा १५ वटा वडा पर्छन्। यस क्षेत्रमा पथरीशनिश्चरे नगरपालिकाका २, सुनवर्षी नगरपालिकाका ६, रंगेली नगरपालिकाका ४ र कानेपोखरी गाउँपालिकाका ३ वडा रहेका छन्।
प्रदेश ‘ख’ मा कुल ५५८ जना क्षेत्रीय प्रतिनिधि रहेका छन ।
खड्काले वर्तमान कार्यसमितिमा पाँच वर्ष उपसभापतिको जिम्मेवारी सम्हालिसकेका छन्। पार्टीका नेता तथा कार्यकर्तासँग समन्वय गरेर अघि बढ्ने र समस्या समाधानका लागि पहल गर्ने आफ्नो कार्यशैलीका कारण आफूलाई प्रतिनिधिहरूको समर्थन रहने उनको दाबी छ।
हालसम्म प्रदेश ‘ख’ सभापति पदका लागि खड्काबाहेक अन्य कुनै नेताको नाम औपचारिक रूपमा चर्चामा आएको छैन ।
