विराटनगर । मोरङको जहदा गाउँपालिका–३ स्थित श्रीराम जानकी मन्दिरबाट केही दिनअघि चोरी भएका दुई वटा मूर्ति भारतबाट फेला परेका छन्।
स्थानीय युवाहरूको निरन्तर प्रयास र खोजीपछि भारतको डोरिया भन्ने स्थानबाट मूर्ति फेला पारिएको जनाइएको छ। मूर्ति खोजीका लागि विगत पाँच दिनदेखि जहदा–३ का हिन्दू तथा मुस्लिम समुदायका युवाहरू संयुक्त रूपमा अभियानमा जुटेका थिए।
स्थानीयका अनुसार दिनरात नभनी गरिएको खोजी अभियानपछि मूर्ति फेला पार्न सफलता मिलेको हो। अभियानमा मुकेश झा, प्रमोद मण्डललगायत जहदा–३ का युवाहरूको विशेष योगदान रहेको बताइएको छ।
स्थानीय युवाहरूले मूर्ति फेला पारिनु कुनै एक व्यक्ति वा समूहको मात्र सफलता नभई सम्पूर्ण जहदा–३ का युवाहरूको एकता, मेहनत, साहस र आपसी भाइचाराको परिणाम भएको बताएका छन्।
धर्मभन्दा माथि मानवता, समुदायभन्दा माथि एकता र समस्याभन्दा माथि समाधानलाई प्राथमिकता दिनुपर्ने सन्देशसहित हिन्दू–मुस्लिम समुदायका युवाहरूले धार्मिक सम्पदा संरक्षणमा संयुक्त रूपमा भूमिका निर्वाह गरेको उनीहरूको भनाइ छ।
फेला परेका मूर्तिहरूलाई भोलि बिहान विधिवत् रूपमा श्रीराम जानकी मन्दिरमा पुनःस्थापना गर्ने तयारी गरिएको छ। स्थानीय युवाहरूले यसलाई जहदा–३ का लागि खुसी, गर्व र सामाजिक एकताको क्षण भएको बताएका छन्।
