काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत आगामी संस्करणमा डीआरएस प्रयोग गरिने जानकारी दिएको हो।
डीआरएस लागू भएसँगै खेलका क्रममा अम्पायरले गरेका निर्णयमाथि पुनरावलोकन गर्न सकिनेछ। यसले खेलमा निर्णयको शुद्धता बढाउन र विवाद कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
क्यानका सचिव पारस खड्काले यसअघि नै एनपीएलमा डीआरएस प्रविधि भित्र्याउने तयारी भइरहेको बताएका थिए। उनका अनुसार यसका लागि दुई कम्पनीसँग प्रविधिको परीक्षणसमेत गरिएको थियो। प्रविधिको शुद्धता र विश्वसनीयता मूल्यांकन गरेपछि अन्तिम निर्णय लिइने उनको भनाइ थियो।
क्यानका अनुसार एनपीएलमा एलबीडब्लु (लेग बिफोर विकेट) को निर्णय पुनरावलोकन गर्न पूर्ण थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग गरिनेछ। यसका साथै रनआउट, स्टम्पिङ र नो बलसम्बन्धी निर्णय पनि पुनरावलोकन गर्न सकिनेछ।
यस संस्करणमा बल ब्याटमा लागेको वा नलागेको पहिचान गर्न कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित एज डिटेक्सन प्रविधिसमेत प्रयोग गरिनेछ। यसले अम्पायरलाई निर्णय लिन थप सहयोग गर्नेछ।
त्यस्तै, बलको उचाइका आधारमा वाइड बलको विश्लेषण, छक्काको दूरी र उचाइ मापन तथा बलिङसम्बन्धी अन्य तथ्यांक पनि उपलब्ध हुने क्यानले जनाएको छ।
एनपीएलमा डीआरएस प्रविधि भित्र्याउने निर्णयले प्रतियोगिताको प्राविधिक स्तर सुधार गर्नुका साथै खेललाई थप निष्पक्ष र विश्वसनीय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
