विराटनगर । ८औं संस्करणको वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि कटहरीको अदर्श युथ क्लबले जितेको छ।
जहदा गाउँपालिका–३ को सहयोगमा लक्ष्मी स्पोर्टिङ युवा क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनल खेलमा अदर्श युथ क्लब विजयी भएको हो।
शनिबार सम्पन्न फाइनल खेलमा अदर्श युथ क्लबका खेलाडी सनिस लिम्बूले खेलको १५औं मिनेटमै निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उक्त गोल नै खेलको नतिजा तय गर्ने गोल सावित भयो। प्रतिस्पर्धात्मक खेलमा जहदा–२ को जहदा युथ क्लबले अन्तिम समयसम्म बराबरीको प्रयास गरे पनि गोल गर्न नसक्दा उपाधिबाट वञ्चित हुनुपरेको थियो।
बैशाख १२ गतेदेखि जहदा–३ स्थित खेल मैदानमा सुरु भएको प्रतियोगितामा ८ वटा टोली सहभागी भएका थिए। विभिन्न चरण पार गर्दै जहदा युथ क्लब र अदर्श युथ क्लब फाइनलमा पुगेका थिए।
विजेता अदर्श युथ क्लबले ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद ६१ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता जहाज युथ क्लबले ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा जहदा–३ का वडा अध्यक्ष अनिल ठाकुरले खेलकुदमार्फत युवालाई प्रोत्साहन गर्ने उद्देश्यले आफूले पहिलो कार्यकालदेखि नै यस्ता कार्यक्रमलाई प्राथमिकता दिएको बताए। उनले आगामी दिनमा पनि खेलकुद गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

