काठमाडौं । आगामी मंगलबारदेखि नेपालका अधिकांश क्षेत्रमा एक साताभन्दा बढी समय वर्षा हुने सम्भावना देखिएको छ। बंगालको खाडीबाट आउने न्यूनचापीय प्रणालीको प्रभावले वर्षा हुन सक्ने मौसमविद् विनोद पोखरेलले बताएका छन्।
मौसम पूर्वानुमानका विभिन्न मोडेलले आगामी हप्ता वर्षाको संकेत देखाएको उल्लेख गर्दै पोखरेलले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्।
उनका अनुसार केही स्थानमा भारी वर्षासमेत हुन सक्छ। यद्यपि, वर्षा हुने क्षेत्र र पानी पर्ने मात्राबारे विभिन्न मोडेलले फरक–फरक संकेत गरेकाले अहिले नै कुन ठाउँमा कति वर्षा हुन्छ भनेर यकिन गर्न कठिन रहेको उनले बताएका छन्।
पूर्वानुमानमा परिवर्तन हुन सक्ने भएकाले नियमित मौसम अपडेटमा ध्यान दिनुपर्ने उनको सुझाव छ।
वर्षाको सम्भावनालाई ध्यानमा राख्दै उनले धान काट्ने तयारीमा रहेका किसानलाई पनि विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। मंगलबारदेखि धान काट्ने योजना बनाएका किसानले मौसमको पछिल्लो अवस्था हेरेर निर्णय लिनुपर्ने उनको भनाइ छ।
सम्भव भए वर्षा सुरु हुनुअघि नै धान काटेर सुरक्षित रूपमा भित्र्याउन वा वर्षा रोकिएपछि काट्ने गरी योजना बनाउन उनले सुझाव दिएका छन्। केही स्थानमा असिनासहित वर्षा हुन सक्ने सम्भावना पनि रहेकाले किसानले थप सावधानी अपनाउनुपर्ने उनले बताएका छन्।
त्यस्तै, हिमाली क्षेत्रमा मौसमका कारण जोखिम बढ्न सक्ने भन्दै विशेष सतर्कता अपनाउन उनले आग्रह गरेका छन्। यात्रा वा पदयात्रामा रहेका तथा त्यसको तयारी गरिरहेका व्यक्तिलाई नियमित मौसम पूर्वानुमान र आधिकारिक सूचनाका आधारमा आफ्नो योजना बनाउन मौसमविद् पोखरेलले सुझाव दिएका छन्।
