Premier Cables

विराटनगर

राधाकृष्ण रथयात्रामा क्रममा ११३ जना पक्राउ

चोरी–-पाकेटमारीको आशंका

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र २१, २०८३  | बिहान ९:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा शनिबार सम्पन्न ५९औँ राधाकृष्ण रथयात्राका क्रममा प्रहरीले चोरी, पाकेटमारी तथा शंकास्पद गतिविधिमा संलग्न भएको आशंकामा ११३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ११२ जना पुरुष र एक जना महिला रहेका छन्।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालका अनुसार रथयात्रामा सहभागी हजारौँको भिडमा चोरी, पाकेटमारी, उच्छृङ्खल गतिविधि तथा अन्य अवाञ्छित क्रियाकलापमा संलग्न हुन सक्ने आशंकामा ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकालाई वडा प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विज्ञापन

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये केही व्यक्ति चोरी तथा पाकेटमारीमा संलग्न रहेको आशंका देखिएको छ। रथयात्राको भिडमा सहभागी दर्शनार्थीका नगद, गरगहना तथा अन्य सामान चोरी र पाकेटमारी भएको सूचना पनि प्रहरीमा आएको थियो।

भिडभाडको फाइदा उठाउँदै चोरी, पाकेटमारी, झैझगडा तथा अन्य आपराधिक गतिविधि हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले रथयात्राका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो। भिडको अवस्था र सम्भावित जोखिमको निगरानीका लागि ड्रोनसमेत प्रयोग गरिएको थियो।

प्रहरीका अनुसार चोरी, पाकेटमारीलगायत अपराधमा संलग्न रहेको पुष्टि हुने व्यक्तिविरुद्ध प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ। शंकास्पद गतिविधिमा मात्रै संलग्न रहेको पाइएकालाई भने आवश्यक अनुसन्धानपछि आफन्त वा परिवारको जिम्मा लगाएर छाडिनेछ।

यसैबीच, रथयात्राको भिडमा हराएका दुई जना बालबालिकालाई प्रहरीले उद्धार गरेको छ। करिब ५ देखि ७ वर्ष उमेर समूहका एक बालक र एक बालिकालाई भिडबाट उद्धार गरी जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको प्रहरीले जनाएको छ। हराएका बालबालिकाका अभिभावकलाई जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।

रथयात्रालाई लक्षित गरी यसपटक सुरक्षा व्यवस्था थप कडा पारिएको थियो। ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्नुका साथै सम्भावित आपराधिक गतिविधिमाथि निरन्तर निगरानी गरिएको थियो। प्रहरीको सक्रियता र प्रभावकारी सुरक्षा व्यवस्थाका कारण विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रा भव्य तथा सुरक्षित रूपमा सम्पन्न भएको प्रहरी उपरीक्षक कटवालले बताएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka