विराटनगर । विराटनगर–१० स्थित कृष्ण लाइफले कृष्ण जन्माष्टमीको अवसरमा विभिन्न धार्मिक कार्यक्रम आयोजना गर्ने भएको छ।
बिहीबार सिटी प्यालेसमा आयोजित पत्रकार सम्मेलनमार्फत कृष्ण लाइफले आगामी भदौ १९ गते बिहान ७ बजेदेखि राति १२ बजेसम्म कृष्ण जन्माष्टमीको भव्य उत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो।
कृष्ण लाइफ विराटनगरका अध्यक्ष विद्यासागर दासका अनुसार बिहान ७ बजे दर्शन आरतीबाट सुरु हुने कार्यक्रम राति १२ बजे महाआरतीसँगै सम्पन्न हुनेछ। उत्सवमा भारतका प्रसिद्ध प्रचारक गौर दास ब्रह्मचारी प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ।
विराटनगरसहित आसपासका क्षेत्रबाट करिब ४० हजार भक्तजनको सहभागिता हुने अनुमान गरिएको छ। उत्सवका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ। कार्यक्रममा २५ हजार भक्तजनका लागि प्रसादी वितरण गर्ने व्यवस्था समेत गरिएको आयोजक समितिले जनाएको छ।
२०८२ सालदेखि आधिकारिक रूपमा दर्ता भएर धार्मिक गतिविधि सञ्चालन गर्दै आएको कृष्ण लाइफले दैनिक भजन, कथा वाचनलगायत विभिन्न धार्मिक कार्यक्रम गर्दै आएको जनाएको छ।
