फायल फोटो
विराटनगर । विराटनगरमा आज निकालिने राधाकृष्ण रथयात्रालाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सुरक्षा संयन्त्रलाई पूर्ण रूपमा सतर्क बनाइएको छ।
लाखौँको सङ्ख्यामा श्रद्धालुहरूको सहभागिता रहने यो धार्मिक उत्सवमा शान्ति सुरक्षा, आपत्कालीन स्वास्थ्य सेवा र यातायात व्यवस्थापनलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना लागू गरिएको छ। नेपालका विभिन्न जिल्ला तथा भारतका सीमावर्ती क्षेत्रबाट समेत गरी पाँच लाखभन्दा बढी भक्तजनहरू जम्मा हुने अनुमान गरिएको यस रथयात्रामा सम्भावित भिडभाड, अराजकता र आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सुरक्षा निकायले कडा कदम चालेको छ।
सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउन रथयात्राको रुट र भिडभाड हुने मुख्य स्थलहरूमा आधुनिक प्रविधिको प्रयोग गरिएको छ। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार भिडभाडमाथि सूक्ष्म निगरानी राख्न र कुनै पनि शङ्कास्पद वा उच्छृङ्खल गतिविधिलाई तत्काल नियन्त्रणमा लिन ड्रोन क्यामेरा र सादा पोसाकमा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। रथयात्राको पवित्रतामा खलल पार्ने, धार्मिक सद्भाव बिथोल्ने वा नियमविपरीत गतिविधि गर्ने जो कोहीलाई पनि तत्काल पक्राउ गरी कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरिने प्रहरीले स्पष्ट चेतावनी दिएको छ।
विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट सुरु भई करिब आठ किलोमिटरको परिक्रमा गर्ने यस लामो यात्राका क्रममा ४४ वटा विश्रामस्थलहरू तोकिएका छन्। ती सबै विश्रामस्थल तथा भीडभाडयुक्त मार्गमा हुलदङ्गा नियन्त्रण टोली, ट्राफिक व्यवस्थापन टोली र स्वास्थ्य स्वयंसेवकहरूको विशेष दस्ता तैनाथ गरिएको छ।
रथयात्राको मौलिकता जोगाउन यस वर्ष डिजे साउन्ड पूर्ण रूपमा निषेध गरिएको छ भने धार्मिक भजन–कीर्तन र सांस्कृतिक झाँकीलाई मात्र स्थान दिइएको छ। यसले गर्दा मनोरञ्जनको नाममा हुन सक्ने उच्छृङ्खलता स्वतः नियन्त्रण हुने अपेक्षा गरिएको छ। प्रशासन र मन्दिर व्यवस्थापन समितिको संयुक्त प्रयासमा आम नागरिक तथा भक्तजनहरूले कुनै पनि किसिमको असुरक्षा महसुस नगरिकन शान्तिपूर्ण रूपमा रथयात्रामा सहभागी हुन सक्ने वातावरण सुनिश्चित गरिएको छ।
