विराटनगर । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्ष २०८२/८३ मा २४ अर्ब रुपैयाँभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ।
प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार भारत, चीन, अष्ट्रेलिया र बङ्गलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी कुल रु २४ अर्ब २६ करोड ७४ लाख बराबरको कृषिजन्य सामग्री नेपाल भित्रिएको हो।
आयातीत कृषि वस्तुमध्ये सबैभन्दा ठूलो हिस्सा खाद्यान्न र दलहनको रहेको छ। कार्यालयको तथ्याङ्कअनुसार भारतबाट रु २४ करोड २३ लाख १३ हजारको चामल र रु १८ কোটি ८३ लाखको कोदो आयात भएको छ। यस्तै, अष्ट्रेलिया र भारतबाट रु १८ करोड २७ लाख ९९ हजार बराबरको एक हजार ९९६ मेट्रिक टन चना तथा अष्ट्रेलियाबाट रु १० करोड ८८ लाख ५४ हजार बराबरको ७९६ मेट्रिक टन मासको दाल भित्रिएको छ।
यसैगरी, ताजा तरकारीतर्फ भारतबाट उल्लेख्य मात्रामा तरकारी आयात भएको छ। एक वर्षको अवधिमा रु १४ करोड ३९ लाख ६६ हजारको गोलभेडा, रु सात करोड ९० लाख ६४ हजारको काँक्रा र रु तीन करोड २४ लाख ३५ हजारको खुर्सानी आयात भएको छ।
फलफूलतर्फ भारत र चीन मुख्य स्रोतका रूपमा रहेका छन्। भारत र चीनबाट रु २९ करोड ५९ लाख ७२ हजारको स्याउ तथा भारतबाट मात्रै रु १४ करोड २४ लाख ८१ हजारको तरबुजा आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ।
