विराटनगर । भन्सार विभागले अनधिकृत व्यक्तिको संलग्नता रोक्दै कानुनी रूपमा इजाजतप्राप्त भन्सार एजेन्ट तथा प्रतिनिधिमार्फत मात्र मालवस्तु जाँचपास गराउने निर्देशन दिएपछि विराटनगर भन्सार एजेन्ट संघले त्यसको स्वागत र समर्थन गरेको छ।
बिहीबार विज्ञप्ति जारी गर्दै संघले भन्सार एजेन्ट महासंघ नेपालको संस्थागत निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आफूहरू प्रतिबद्ध रहेको जनाएको छ।
संघका अध्यक्ष देवकी नन्दन शर्माका अनुसार विभागको यस कदमले भन्सार प्रणालीमा पारदर्शिता, जवाफदेहिता र पेशागत मर्यादा कायम गर्न ठूलो सहयोग पुग्नेछ। “कानुनले भन्सार एजेन्टको अधिकार र दायित्व स्पष्ट तोकेको छ। अनधिकृत व्यक्तिको घुसपैठले पेशागत मर्यादा घट्नुका साथै राजस्व प्रशासन र व्यापार सहजीकरणमा पनि चुनौती थपेको छ,” शर्माले भने। संघले सम्पूर्ण जाँचपास प्रतिनिधिहरूलाई कानुन र आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ।
यसैबीच, भन्सार एजेन्ट महासंघ नेपालका सचिव प्रविण जोशीले यो अभियान देशभरका भन्सार एजेन्टहरूको कानुनी पहिचान र मर्यादा जोगाउन सुरु गरिएको बताए। विराटनगर संघको ऐक्यबद्धताले अभियानलाई थप बल पुगेको भन्दै उनले स्थानीय नाकामा देखिने व्यावहारिक समस्या तथा राजस्व असुलीका चुनौतीलाई संवाद र सहकार्यबाटै समाधान गरिने स्पष्ट पारे।
’कानुनको पालना, पेशागत मर्यादा र संस्थागत एकता नै आधुनिक भन्सार प्रणालीको आधार हो’ भन्दै संघले विभागको निर्णय कार्यान्वयनमा सहयोग पुर्याउन सम्बन्धित सबै पक्षसँग अपील समेत गरेको छ।
