विराटनगर | भारतमा पछिल्लो समय भएको युवा नेतृत्वको विरोध प्रदर्शनले मुख्यधारका टेलिभिजन सञ्चारमाध्यमप्रति बढ्दै गएको अविश्वासलाई सतहमा ल्याएको छ । प्रदर्शनका क्रममा समाचारकर्मीमाथि भएका दुर्व्यवहारका घटनाले सरकारनिकट रहेको आरोप खेपिरहेका परम्परागत सञ्चारमाध्यम र स्वतन्त्र डिजिटल माध्यमबीचको दूरीसमेत उजागर गरेको छ ।
‘कक्रोच जनता पार्टी’ आन्दोलनअन्तर्गत देशभर भएका प्रदर्शनमा सहभागी युवाले केही टेलिभिजन च्यानललाई ‘भारतको सबैभन्दा खराब शत्रु’ भन्दै आलोचना गरेका थिए । उनीहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारसँग निकट रहेको आरोप लगाउँदै मुख्यधारका सञ्चारमाध्यमलाई ‘ल्यापडग मिडिया’ को संज्ञा दिएका थिए ।
नयाँदिल्लीको जन्तरमन्तरमा आयोजित प्रदर्शनमा सहभागी अधिकांश युवाले समाचारका लागि सामाजिक सञ्जाल र स्वतन्त्र डिजिटल प्लेटफर्ममा बढी निर्भर हुने बताएका छन् । २८ वर्षीय सफ्टवेयर व्यवसायी सुखजित नरुलाले परम्परागत समाचार च्यानलहरूले हरेक आन्दोलनलाई राष्ट्रविरोधी गतिविधिका रूपमा प्रस्तुत गर्ने गरेको भन्दै त्यस्ता सञ्चारमाध्यमप्रति निराशा बढेको बताउनुभयो ।
प्रदर्शनका क्रममा केही टेलिभिजन पत्रकारमाथि आक्रमणसमेत भएको छ । अङ्ग्रेजी समाचार च्यानल टाइम्स नाउका पत्रकार देव कोटकमाथि नयाँदिल्लीमा प्रदर्शनकारीले पानी छ्याप्नुका साथै कुटपिट गरेका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा उहाँ सुरक्षाकर्मीको सहयोगमा घटनास्थलबाट बाहिरिएको देखिन्छ । उहाँका अन्य तीन सहकर्मीमाथि पनि दुर्व्यवहार भएको जनाइएको छ ।
यस्तै, एएफपीले प्रमाणीकरण गरेको भिडियोमा मुम्बईमा प्रत्यक्ष प्रसारण गरिरहेका जी टिभीका पत्रकारलाई प्रदर्शनकारीले घेरेको देखिएको छ भने पटनामा पनि एक पत्रकारलाई भीडले पछ्याएको दृश्य सार्वजनिक भएको छ ।
टाइम्स नेटवर्कले भने आफ्नो टोलीले प्रदर्शनलाई पूर्ण निष्पक्षताका साथ समाचार सङ्कलन गरेको दाबी गर्दै पत्रकारमाथिको आक्रमणको निन्दा गरेको छ । विचारमा असहमति भए पनि कानुन हातमा लिन नहुने उसको भनाइ छ ।
सञ्चार क्षेत्रका विश्लेषकहरूका अनुसार पछिल्ला घटनाले लामो समयदेखि सञ्चारमाध्यमप्रति बढ्दै आएको जनअविश्वासलाई प्रतिबिम्बित गरेको छ । पत्रकार रवीश कुमारले मुख्यधारका केही सञ्चारमाध्यमले विश्वसनीयता गुमाउँदै गएको टिप्पणी गर्दै आलोचकहरूले प्रयोग गर्ने ‘गोदी मिडिया’ वा ‘ल्यापडग मिडिया’ शब्द यही असन्तुष्टिको परिणाम भएको बताउनुभएको छ ।
उहाँका अनुसार जनसरोकारका विषयलाई समेत षड्यन्त्र वा राजनीतिक कोणबाट प्रस्तुत गर्ने प्रवृत्तिले सञ्चारमाध्यमप्रतिको विश्वास कमजोर बनाएको छ ।
सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकार सत्तामा आएपछि भारतमा प्रेस स्वतन्त्रताको अवस्थाबारे अन्तर्राष्ट्रिय संस्थाहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । रिपोर्टर्स विदाउट बोर्डर्सको विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा भारत हाल १८० देशमध्ये १५७औँ स्थानमा रहेको उल्लेख छ ।
सरकारको आलोचना गर्ने पत्रकारहरूले मुद्दा, गिरफ्तारी र अनलाइन दुर्व्यवहारको सामना गर्नुपरेको आरोप लाग्दै आएको छ । विपक्षी दलहरूले समेत केही सञ्चारमाध्यमले मुस्लिम अल्पसङ्ख्यकसम्बन्धी समाचारलाई ध्रुवीकरण हुने गरी प्रस्तुत गर्दै सत्तारूढ दलको पक्षमा वातावरण बनाउने आरोप लगाउँदै आएका छन् ।
प्रदर्शनका क्रममा केही टेलिभिजन पत्रकारले आफ्नो संस्थाको लोगोसमेत लुकाएर रिपोर्टिङ गरेको बताइएको छ । प्रदर्शनकारी शैलेन्द्र सिंहले युवाहरूले मुख्यधारका सञ्चारमाध्यमलाई लक्षित गर्न थालेपछि पत्रकारहरूले आफ्नो पहिचान खुल्ने चिह्न हटाउन थालेको दाबी गर्नुभयो ।
डिजिटल सञ्चारमाध्यम न्युजलन्ड्रीका प्रबन्ध सम्पादक अतुल चौरासियाले परम्परागत सञ्चारमाध्यम सरकारको विज्ञापनमा अत्यधिक निर्भर हुँदा उनीहरूको स्वतन्त्रता प्रभावित भएको टिप्पणी गर्नुभयो । विज्ञापन नीतिलाई प्रभावको माध्यम बनाउँदा स्वतन्त्र पत्रकारिताको वातावरण कमजोर हुँदै गएको उहाँको भनाइ छ ।
रवीश कुमारले भने सबै मुख्यधारका सञ्चारमाध्यमलाई एउटै दृष्टिले हेर्न नहुने बताउँदै सरकारको आलोचना गर्ने स्वतन्त्र पत्रकार र वैकल्पिक सञ्चारमाध्यमले अझ बढी दबाब, छापा, राष्ट्रविरोधी आरोप र कानुनी जोखिम सामना गर्नुपरेको उल्लेख गर्नुभयो । पछिल्लो जनआक्रोशले केही टेलिभिजन नेटवर्कप्रति लोकतान्त्रिक मूल्य र पत्रकारिताको भूमिकाबारे थप प्रश्न खडा गरेको उहाँको भनाइ छ ।
