विराटनगर ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार जेठ मसान्तसम्मको औसत मुद्रास्फीति २.८९ प्रतिशत देखिएको छ।
गत जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा २.७२ प्रतिशत मात्र थियो। केन्द्रीय बैंकका अनुसार समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.३७ प्रतिशत रहेको छ।
खाद्य तथा पेयपदार्थ समूह अन्तर्गत फलफूल उप-समूहको मूल्य सूचकाङ्क १७.४० प्रतिशत, घ्यू तथा तेलको १५.१० प्रतिशत, माछा तथा मासुको ५.२६ प्रतिशत र तरकारीको ४.१४ प्रतिशतले बढेको छ भने दाल तथा गेडागुडीको सूचकाङ्क ०.९३ प्रतिशतले घटेको छ। गैरखाद्य तथा सेवा समूह तर्फ विविध वस्तु तथा सेवाको मूल्य १६.६८ प्रतिशत, यातायातको १५.३१ प्रतिशत, मदिराजन्य पेयपदार्थको ७.२० प्रतिशत, शिक्षाको ५.५४ प्रतिशत र कपडा तथा जुत्ताचप्पलको ५.५३ प्रतिशतले बढेको छ। यसैगरी ग्रामीण क्षेत्रको उपभोक्ता मूल्य सूचकाङ्क ४.७८ प्रतिशत र सहरी क्षेत्रको ५.३८ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ।
प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेशमा सबैभन्दा बढी ५.७५ प्रतिशत मुद्रास्फीति देखिएको छ। यस्तै मधेस र लुम्बिनीमा ५.६२ प्रतिशत, बागमतीमा ४.७९ प्रतिशत, गण्डकीमा ५.०५ प्रतिशत, कर्णालीमा ४.८९ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ४.६१ प्रतिशत मुद्रास्फीति रहेको छ। क्षेत्रगत आधारमा जेठ महिनामा काठमाडौँ उपत्यकामा ४.९८ प्रतिशत, तराईमा ५.७४ प्रतिशत, पहाडमा ५.०७ प्रतिशत र हिमालमा ३.७१ प्रतिशत वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति रहेको राष्ट्र बैंकले जनाएको छ।
