काठमाडौं । विभिन्न सञ्चारमाध्यमका कार्यालयअगाडि शंकास्पद रूपमा पार्किङ गरिएका निजी सवारीसाधन प्रहरीले नियन्त्रणमा लिन थालेको छ। कार्यालयमा आवतजावतमा अवरोध पुग्ने गरी गाडी राखिएको सूचना प्राप्त भएपछि प्रहरीले ती सवारी हटाएर अनुसन्धान अघि बढाएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार कान्तिपुर, अनलाइनखबर, हिमालयन टेलिभिजन तथा अनामनगरस्थित भाटभटेनी सुपरमार्केट नजिक चार स्थानमा निजी नम्बर प्लेटका गाडी पार्किङ गरिएको सूचना प्राप्त भएको थियो।
उनले सूचना प्राप्त हुनासाथ प्रहरी टोली सम्बन्धित स्थानमा परिचालन गरिएको र गाडीहरू नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए।
प्रहरीले तीनकुनेस्थित कान्तिपुरको कार्यालयअगाडि रोकिएको गाडी क्रेनको सहायताले हटाइसकेको छ। त्यसैगरी अनलाइनखबर र हिमालयन टेलिभिजनको कार्यालयअगाडि पार्किङ गरिएका गाडी पनि हटाउने तयारी गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा चारवटै गाडी निजी नम्बर प्लेटका रहेको खुलेको छ। ती सवारी कसले, कुन उद्देश्यले र किन सञ्चारगृह तथा सार्वजनिक स्थलको प्रवेशमार्ग अवरुद्ध हुने गरी पार्किङ गर्यो भन्ने विषय अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर सवारीधनीको पहिचान तथा पार्किङको उद्देश्यबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।
यसैबीच नेपाल पत्रकार महासंघले प्रेस विज्ञप्ति प्रकासन गरी यसरी मिडिया हाउस अगाडि सवारी साधन तेस्र्याएर राख्नेको खोजी गरी कारवाही गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।


