काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमवासीको व्यवस्थापनमा सरकार पूर्ण रूपमा असफल भएको भन्दै कडा आपत्ति जनाउनुभएको छ ।
कीर्तिपुरको होल्डिङ सेन्टर बाढीका कारण डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका पीडित नागरिकहरू थप संकटमा परेको विषयलाई लिएर उहाँले सरकारको तीव्र आलोचना गर्नुभएको ह ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सुकुमवासी व्यवस्थापनका सन्दर्भमा गरेको सार्वजनिक प्रतिबद्धतालाई स्मरण गराउँदै आङ्देम्बेले प्रश्न गर्नुभयो, ‘के यही हो तपाईंले वाचा गर्नुभएको सुरक्षित र व्यवस्थित व्यवस्थापन?’
विपद्को समयमा नागरिकलाई सुरक्षित ओत दिनुपर्ने राज्यको दायित्व भए तापनि उचित पूर्वतयारी र योजनाविना सुकुमवासीहरूलाई सारिँदा उनीहरू झन् ठूलो जोखिममा परेका छन्। कीर्तिपुर होल्डिङ सेन्टर डुबानमा परेसँगै राज्यको गैरजिम्मेवारी र संवेदनहीनता प्रष्ट भएको नेता आङ्देम्बेको भनाइ छ।
पीडितहरूलाई एउटा जोखिमपूर्ण अवस्थाबाट निकालेर झन् अर्को असुरक्षित दलदलमा धकेल्ने काम भएको भन्दै उहाँले तत्काल उचित र सुरक्षित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ।


