काठमाडौं । सरकारले गठन भएको पहिलो सय दिनभित्र जिल्ला हुलाक कार्यालयमार्फत पाँच हजार ७२८ जनालाई राहदानी (पासपोर्ट) घरदैलोमै उपलब्ध गराएको जनाएको छ।
सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको ‘शासकीय सुधारका सय कार्यसूचीसम्बन्धी कार्यहरूको सारांश’ अनुसार हुम्ला र भोजपुरबाहेकका ७५ जिल्लामा उक्त सेवा सञ्चालन गरिएको हो।
यस अवधिमा राहदानी विभागबाट प्राप्त दुई लाख छ हजार ३३० थान राहदानी हुलाकमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयसम्म सुरक्षित रूपमा ढुवानी गरिएको मन्त्रालयले जनाएको छ।
हुलाक सेवाको लागत र वितरण समय घटाउने उद्देश्यले सरकारले डाँकरेखाको पुनरावलोकन गरी नयाँ व्यवस्था लागू गरेको पनि जनाएको छ। मन्त्रालयका अनुसार यसबाट पोखराबाट पाल्पासम्म पुग्न पहिले १० दिन लाग्ने हुलाक वस्तु अब दुई दिनमै पुग्ने भएको छ।
त्यसैगरी, सात जिल्लामा एक हजार ८९ वटा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सेवाग्राहीको घरमै पु¥याइएको छ भने आठ हजार ३१ वटा अनुमतिपत्र सम्बन्धित यातायात कार्यालयसम्म ढुवानी गरिएको छ।
सरकारका अनुसार १६ असारसम्म २३ लाख ७५ हजार १८१ थान सवारी चालक अनुमतिपत्र छपाइ सम्पन्न भएको छ। साथै, नयाँ प्राप्त २१ लाख सात हजार ९६८ आवेदनका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै अनुमतिपत्र छाप्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य सेवातर्फ, १७ वटा अस्पतालबाट सङ्कलन गरिएका एक हजार २३३ वटा प्रयोगशाला नमुना सुरक्षित रूपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासम्म पुर्याइएको छ।
यसैगरी, त्रिभुवन विश्वविद्यालय र नेपाल खुला विश्वविद्यालयसँगको सम्झौताअनुसार २६३ थान शैक्षिक प्रमाणपत्र विद्यार्थीको घरसम्म वितरण गरिएको मन्त्रालयले उल्लेख गरेको छ।
मन्त्रालयका अनुसार देशभरका ५० वटा हुलाक कार्यालयलाई सूचना प्रविधिमा आधारित ‘स्मार्ट हुलाक’ सेवामा रूपान्तरण गर्न छनोट गरिएको छ।


