Premier Cables
Premier Steel

राष्ट्रिय

वीरगञ्जका मेयरविरुद्ध पक्राउ पुर्जी जारी

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ १२, २०८३  | साँझ ७:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

वीरगञ्ज । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

अर्काकी छोरीलाई आफ्नै सन्तानका रूपमा देखाई झूटो विवरण पेश गरेर जन्मदर्ता, नागरिकता र राहदानी बनाएको आरोपमा उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाइएको हो।

बिज्ञापन

गत जेठ १ गते जिल्ला अदालत पर्सामा चारवटा मुद्दा दर्ता भएपछि मेयर सिंह, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाकी रिता भट्टराई, उनकी छोरी रुबिना श्रेष्ठ तथा वीरगञ्ज महानगरपालिकाका तत्कालीन पञ्जीकरण अधिकारी भिखारी रायविरुद्ध लिखत सम्बन्धी कसुर, नागरिकता कीर्ते र राहदानी कीर्ते लगायतका अभियोग लगाइएको छ।

अभियोगपत्रअनुसार मेयर सिंहले २०७१ माघ २० गते रिता भट्टराईलाई आफ्नी श्रीमतीका रूपमा उल्लेख गर्दै रुबिना श्रेष्ठको जन्मदर्ता गराएका थिए। त्यसै जन्मदर्ताका आधारमा २०७५ साउन १० गते नागरिकता र १२ दिनपछि राहदानी बनाइएको अनुसन्धानबाट खुलेको जनाइएको छ।

जिल्ला अदालत पर्साका श्रेस्तेदार प्रभाकरकुमार मल्लिकका अनुसार अभियुक्तहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४, नागरिकता ऐन २०६३ र अपराध पीडित संरक्षण ऐन २०७५ अन्तर्गत मुद्दा दर्ता गरिएको हो। दोषी ठहर भए १५ हजारदेखि ५ लाख रुपैयाँसम्म जरिवाना तथा ६ महिनादेखि ३ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था रहेको उनले बताएका छन्।

यो प्रकरण २०८० माघमा वीरगञ्ज-३ का लियाकत अलीले जिल्ला प्रहरी कार्यालय पर्सामा दिएको उजुरीपछि सार्वजनिक भएको थियो। अनुसन्धानमा ढिलाइ भएपछि उनले उच्च अदालत वीरगञ्ज अस्थायी इजलासमा रिट दायर गरेका थिए। अदालतले अनुसन्धान अघि बढाउन परमादेश जारी गरेपछि मात्र प्रहरी सक्रिय बनेको बताइएको छ।

यसबीच सार्वजनिक कार्यक्रममा नियमित देखिने मेयर सिंहलाई “अनुपस्थित” देखाएर अभियोगपत्र दर्ता गरिएको विषयले थप प्रश्न उठाएको छ। जिल्ला न्यायाधिवक्ता मनोज प्रसाद गुप्ताले उनलाई अनुपस्थित जनाउँदै अभियोगपत्र दर्ता गरेपछि उनको भूमिकामाथि समेत चासो बढेको छ।

स्रोतका अनुसार अनुसन्धानका क्रममा प्रहरीले मेयर सिंहविरुद्ध पक्राउ पुर्जी माग्दा सरकारी वकिल कार्यालयबाट अवरोध भएको आरोप पनि लागेको छ। पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठकले अनुसन्धानका लागि पक्राउ पुर्जी माग गरिएको तर स्वीकृति नपाएको बताएका छन्।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा जिल्ला न्यायाधिवक्ता मनोज प्रसाद गुप्ताले फोन काटेका थिए भने श्रेस्तेदार प्रभाकर मल्लिकले “मिसिल हेर्नुपर्छ” भन्दै पछि कुरा गर्ने बताएका थिए। अदालतले जिल्ला प्रहरी कार्यालय पर्साका नाममा जारी गरेको पक्राउ सम्बन्धी पत्रको चलानी नम्बर २३९१२ रहेको स्रोतले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka