काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका क्याम्पसलाई नियमन गर्न नयाँ नियामावली ल्याउन लागिएको बताएका छन् । आइतबार (जेठ १०) आयोजित एक कार्यक्रममा उनले विदेशी विश्वविद्यालयसम्बद्ध कलेजका सन्दर्भमा धेरै गुनासो आएकाले नियमनका निम्ति नियमावली ल्याउन लागिएको जानकारी दिएका हुन् ।
उनका अनुसार, शिक्षाले नियमावलीको मस्यौदा तयार गरी अर्थ र कानुन मन्त्रालयमा पठाएको छ । ती मन्त्रालयको स्वीकृति र रायपछि मन्त्रिपरिषद्मा पेस गरिने उनले बताए । विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरू प्रभावकारी रूपमा नियमन हुन नसकेको उनको भनाइ थियो ।
“फरेन युनिभर्सिटी एफिलिएटेड कलेजहरूको बारेमा धेरै नै गुनासोहरू आउने गरेको छ । हामीले फाइनल ड्राफ्ट कानुन मन्त्रालयमा पठाइसकेका छौँ,” उनले भने ।
विदेशी विश्वविद्यालयसम्बद्ध कलेजलाई कुन आधारमा सम्बन्धन दिने/नदिने तथा नियमनको ढाँचा कस्तो हुने भन्ने विषय नियमावलीमार्फत स्पष्ट गरिने उनले उल्लेख गरे ।
नेपाली विश्वविद्यालय र कलेजहरू नियमनमा छन् । विदेशी सम्बन्धन प्राप्त कलेजहरू व्यवस्थित रूपमा नियमन हुन नसकेको उनले बताए ।
“फरेन युनिभर्सिटी एफिलिएटेड कलेजलाई आजसम्म राम्रोसँगले रेगुलेट पनि भइरहेको छैन,” उनले भने, “यसलाई हामीले व्यवस्थित बनाउन नियमावली तयार पनि गरेर हामीले ड्राफ्ट पनि सम्बन्धित मन्त्रालयहरूमा पठाइसकेका छौँ ।”
उनका अनुसार, शिक्षा मन्त्रालयले हाल तीन नियमावली एकसाथ अघि बढाइरहेको छ । यसमा शिक्षा नियमावली, शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्था नियमनसम्बन्धी नियमावली र विदेशी विश्वविद्यालयसम्बद्ध कलेज नियमनसम्बन्धी नियमावली छन् । शिक्षा ऐन संसद्को चालु अधिवेशनमा ल्याउन नसकिएकाले नियमावली अगाडि बढाइएको उनले बताए ।
उनले विद्यालयमा शिक्षक दरबन्दी मिलानका निम्ति पनि कार्य अगाडि बढाइएको जानकारी दिए । स्थानीय तहसँगको समन्वयमा दरबन्दी मिलानको कार्य अघि बढाइएको उनको भनाइ छ ।
