काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक खर्चमा मितव्ययीता अपनाउन सबै सरकारी निकायलाई अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र प्रदेश सरकारलाई परिपत्र जारी गर्दै आवश्यक नभएसम्म नयाँ सामान खरिद नगर्न आग्रह गरेको हो ।
परिपत्रमा कार्यालयमा हाल प्रयोग भइरहेका सामान, औजार, उपकरण, फर्निचर तथा सवारी साधनलाई सञ्चालनयोग्य अवस्थामा राखेर प्रयोग गर्न र सार्वजनिक खर्चलाई मितव्ययी बनाउन निर्देशन दिइएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार कतिपय निकायमा प्रयोगमै रहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल र ल्यापटपजस्ता सामग्री प्रयोग नगरी नयाँ खरिद गर्ने तथा मर्मतका नाममा अस्वाभाविक खर्च गर्ने प्रवृत्ति देखिएको भन्दै गुनासो आएको छ ।
यसले राज्यकोषमा अनावश्यक भार परेको निष्कर्षसहित सार्वजनिक खर्च नियन्त्रण र मितव्ययीता कायम गर्न परिपत्र जारी गरिएको प्रधानमन्त्री कार्यालयको सुशासन, भ्रष्टाचार नियन्त्रण तथा कर्मचारी पृष्ठपोषण शाखाले जनाएको छ ।
