काठमाडौं । सोमबारसम्म करिब एक दर्जन लघुवित्त कम्पनीहरूले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन्। तीमध्ये एक कम्पनीको लाभांश क्षमता स्पष्ट नखुलेको छ भने अर्कोको लाभांश क्षमता नै ऋणात्मक देखिएको छ।
सार्वजनिक विवरणअनुसार बाँकी १० लघुवित्तमध्ये जीवन विकास लघुवित्त र सपोर्ट लघुवित्त को लाभांश क्षमता सबैभन्दा उच्च देखिएको छ। जीवन विकासको ५९.७० प्रतिशत र सपोर्टको ३९.१४ प्रतिशत लाभांश क्षमता रहेको छ भने अन्य लघुवित्तहरूको यस्तो क्षमता ७.२३ प्रतिशतदेखि ३१.२७ प्रतिशतसम्म रहेको छ।
जीवन विकास लघुवित्तको चालु आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमाससम्म नाफा ७६ प्रतिशतले वृद्धि भई ६२ करोड ६९ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ३५ करोड ५६ लाख रुपैयाँ थियो। कम्पनीको ब्याज आम्दानी पनि करिब १५ प्रतिशतले बढेर एक अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। सम्भावित जोखिमका लागि राखिएको प्रावधानबाट यस वर्ष करिब ६ करोड रुपैयाँ फिर्ता आएको छ।
कम्पनीको निष्क्रिय कर्जा ४.९७ प्रतिशतबाट घटेर ४.८० प्रतिशतमा झरेको छ। प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ४३ पैसा र प्रतिसेयर नेटवर्थ २५५ रुपैयाँ रहेको छ। एक अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको सञ्चित कोषमा एक अर्ब चार करोड रुपैयाँ रहेको छ, जसका आधारमा करिब ६० प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिएको छ।
जीवन विकासले पछिल्ला तीन वर्षदेखि औसत १४.७३ प्रतिशतका दरले लाभांश वितरण गर्दै आएको छ। हाल कम्पनी युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्त सँग मर्जर प्रक्रियामा जाने सहमतिमा पुगेको छ।
त्यस्तै, सपोर्ट लघुवित्तको नाफा पनि ५२ प्रतिशतले बढेर ४ करोड ६७ लाख रुपैयाँ पुगेको छ। यसको ब्याज आम्दानी ५३ प्रतिशतले वृद्धि भई १३ करोड ४० लाख रुपैयाँ पुगेको छ। यद्यपि, निष्क्रिय कर्जा १.६४ प्रतिशतबाट बढेर ३.३१ प्रतिशत पुगेको छ।
सपोर्ट लघुवित्तको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ५३ पैसा र नेटवर्थ १८३ रुपैयाँ रहेको छ। १३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सञ्चित कोषमा ३ करोड ९३ लाख रुपैयाँ रहेको छ, जसका आधारमा करिब ३९.१४ प्रतिशत लाभांश दिन सक्ने देखिएको छ।
यस कम्पनीले पछिल्ला तीन वर्षमा औसत १२.७२ प्रतिशत लाभांश वितरण गर्दै आएको छ। कम पुँजी र उच्च लाभांश क्षमताका कारण यी लघुवित्तहरूमा लगानीकर्ताको आकर्षण बढ्दै गएको देखिन्छ।

