Premier Cables
Premier Steel

विराटनगर

विराटनगरको उदाहरणीय पहलः ३०० सुकुम्बासी परिवार बने घरजग्गाका मालिक

कुमार लुइँटेल Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख २२, २०८३  | बिहान ९:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर–१२ मनलवाकी कौशिला ऋषिदेवको अहिले आफ्नै घर छ । उनी परिवारसहित त्यही घरमा बस्छिन् । उनीजस्ता करिब डेढ सय परिवार खोला किनारका झुप्राझाप्रीमा बस्दथे । हरेक वर्ष आउने बाढीले बगाउने चिन्ताबीच उनीहरु अग्लो र खुला ठाउँमा सर्दै फेरि बर्खा सकिएपछि खेला किनारमै जानुपर्ने बाध्यता थियो । पाँच वर्षअघिको कथा बेग्लै थियो तर अहिले फरक भएको छ ।

उनीजस्तै विपन्न १४५ ऋषिदेव परिवारको अहिले आफ्नै घर–जमिन छ । निर्माण सम्पन्न भएकामध्ये ८५ परिवार त आफ्ना घरमा सरिसकेका छन् । बाँकीका घर निर्माणाधीन छन् ।

बिज्ञापन

‘‘खोला किनारमा सानो झुप्रोमा बस्दैथियौं अहिले त आफ्नै जमिन र घर पनि भईसक्यो,’’ ऋषिदेवले भनिन,‘‘हाम्रो बस्तीका धेरै मानिसहरुले जग्गाको पैसा समेत बुझाई सक्नु भएको छ, कतिले किस्ता तिरिरहनु भएको छ । घर भने सरकारले नै बनाई दिएको हो ।’’

विराटनगरको यो टोलको नाम नै ‘सम्पन्न बस्ती’ राखिएको छ । भूमिहीन ऋषिदेव (मुसहर) समुदायलाई व्यवस्थित गर्न तीनै तहका सरकार, दाता र गैरसरकारी संस्थाको संयुक्त पहलले मूर्त रुप लिएपछि सयभन्दा बढी विपन्न सुकुम्बासी परिवारले एकसाथ आफ्नै घर पाएका हुन ।

सम्पन्न बस्तीमा घर बाहिर व्यवस्थित चर्पी र स्नान गृह, भित्र एउटा भान्सा, दुई कोठा र बरन्डासहितका घर बनाइएका छन् । छाना टिनले छाएको छ । बालबालिकाको लागि खेल्ने चौर, ज्येष्ठ नागरिकका लागि विश्राम स्थल र सामुदायिक भवन समेत बस्तीभित्रै निर्माण हुने चरणमा छन् ।

महानगरले हरेक वर्ष ४० देखि ५० लाख रुपैयाँ बजेट विनियोजन गर्दै आएको छ । यो घर निर्माणमा उपभोक्ता समितिमार्फत खर्च हुन्छ । एउटा घर निर्माण गर्न ६ लाख ५० हजारसम्म लाग्छ

सम्पन्न बस्तीमा एकैशैली र रंगका समान किसिमका घरहरु बनाइएको छ । यस कार्यका लागि ह्याविट्याट नेपालले प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराइएको छ । ‘ट्रिटमेन्ट’ गरिएका बाँस प्रयोग गरेर बेरामा बालुवा सिमेन्टले पर्खाल बनाइएको छ । घरको चर ढलान गरेर निर्माण गरिएका छन् ।

पाँच वर्षअघि र पछिको अवस्थामा निकै परिवर्तन आएको त्यही बस्तीकी शारदा ऋषिदेवले बताइन् । उनी कोसी प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयमा फूलमालीको काम गर्छिन । त्यहाँबाट आएको परिश्रमिकले जग्गाको किस्ता तिर्न सहयोग पुगेको छ । ऋषिदेव भन्छिन्,‘‘परिवारले बाहिर श्रम गरेर आएको रकमले घर चलेको छ ।’’ सम्पन्न बस्तीका धेरै मुसहर समुदाय जनमजदुरी गर्छन ।
यसरी शुरु भयो निर्माण

मोरङको विराटनगरमा विपन्न ऋषिदेव समुदायका लागि एकीकृत बस्ती निर्माणको योजना कोसी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा योजना मन्त्री केदार कार्कीले पाँच वर्षअघि सारेका थिए । यसमा विराटनगर महानगरपालिका, सहारा नेपाल, जीवन विकास लघुवित्त संस्था र ह्याविट्याट नेपाल पनि जोडिएका छन् । विराटनगर महानगरका आवास योजनाअनुरूप एकीकृत बस्ती निर्माण शुरु गरिएको हो ।

महानगरपालिकाका इन्जिनियर अर्जुन थापाका अनुसार विराटनगर–१२, मनलवा टोलमा निर्माण हुने बस्ती ३ बिघा १६ कठ्ठा ५ धुर क्षेत्रफलमा फैलिएको छ । महानगरले प्रदान गर्ने १ करोडमध्ये ९० लाख रूपैयाँ नगद र १० लाख श्रमदानका रूपमा जुटाउने गरी बस्ती निर्माण शुरु भएको हो । घर निर्माणमा बस्तीकै ऋषिदेव समुदायले श्रमदान गर्ने गरेका छन् ।

इन्जिनियर थापा भन्छन्,‘‘यो सरकार र निजीक्षेत्रको साझेदारीमा निर्माण गरिएको देशकै नमूना परियोजना हो । महानगरले हरेक वर्ष ४० देखि ५० लाख रुपैयाँ बजेट विनियोजन गर्दै आएको छ । यो घर निर्माणमा उपभोक्ता समितिमार्फत खर्च हुन्छ । एउटा घर निर्माण गर्न ६ लाख ५० हजारसम्म लाग्छ ।’’

सम्पन्न बस्तीमा शिक्षा, स्वास्थ्य, विद्युत्, बाटो, खानेपानीलगायत आधारभूत पूर्वाधारसमेत निर्माण गरिने लक्ष्य छ ।

कोसीका पूर्वमुख्यमन्त्री केदार कार्कीले अहिले सुकुम्बासी बस्तीहरुमा धमाधम डोजर चलाउन थालिएको बताउँदै भने,‘‘विस्तृत योजना र तयारीसाथ लागे डोजर चलाउनै पर्दैन । भूमिहीन र विपन्नलाई आफ्नै जग्गामा यही मोडेलमा काम गरेर घर दिलाउन सकिन्छ ।’’

सम्पन्न बस्तीका ऋषिदेव समुदायलाई प्रतिपरिवार १० धुर जग्गामा उपलब्ध गराइएको छ । यसका लागि जीवन विकास लघुवित्त संस्थाले ऋण सहयोग गरेको छ । समूह ऋणको रुपमा सस्तो ब्याजदरमा उपलब्ध गराइएको किस्ता हरेक जग्गाधनीले दुई दुई सातामा बुझाउनु पर्छ ।

ह्याविट्याटका ‘हेड अफ फिल्ड अपरेसन’ विजय यादव भन्छन्,‘‘सार्वजनिक निजी साझेदारीका रुपमा घर निर्माण भएको यो राम्रो उदाहरण हो । अन्यत्र पनि यस्तै काम गर्न सकिन्छ ।’’

महानगरको आफ्नै एकीकृत बस्ती

विराटनगर महानगरपालिकाले सुकुम्बासी परिवारको व्यवस्थापनका लागि आफ्नै लगानी र पहलमा थप दुई स्थानमा नमुना आवास गृह निर्माण गरेको छ ।

वडा नं ५ मा एक सय परिवारका लागि आवास गृह र वडा नं १९ मा ६० परिवारका लागि एकीकृत बस्ती सम्पन्न भएका छन् ।

वडा नम्बर ५ को शंकरवारी चोक केसलियामा रहेको २ विघा सरकारी जमिन र विराटनगर १९ मा पनि सरकारी जमिनमै बस्ती बनाइएको हो । १२खरीबाट

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka