विराटनगर । अमेरिकी सहायक विदेशमन्त्री समीर कौरले नेपाल भ्रमण सफलतापूर्वक सम्पन्न गरेका छन्। भ्रमणका क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए।
भेटमा अमेरिका–नेपाल साझेदारीलाई अझ सुदृढ बनाउने, व्यापार तथा लगानीका अवसरहरू विस्तार गर्ने विषयमा छलफल भएको जनाइएको छ। उनले आगामी सेलेक्ट युएसए इन्भेष्टमेन्ट समिटमा सहभागी हुन जाने नेपाली प्रतिनिधिमण्डलसँग अमेरिकी लगानीका सम्भावनाबारे पनि विचार आदानप्रदान गरेका थिए।
त्यसैगरी, अमेरिकी तथा नेपाली निजी क्षेत्रका प्रतिनिधिहरूसँग बैठक गरी नेपालमा विकसित हुँदै गएको प्रविधि (टेक) क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल गरिएको थियो।
भ्रमणका क्रममा सहायक सचिव कपुरले नेपालको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको अवलोकन पनि गरेका थिए। उनले बौद्ध स्तूप र पाटन दरबार भ्रमण गरेका थिए, जुन स्थलहरूलाई अमेरिकाले ‘एम्बासडर्स फन्ड फर कल्चरल प्रिजर्भेसन’ मार्फत संरक्षणमा सहयोग गर्दै आएको छ।
