काठमाडौं । देशका पहाडी तथा हिमाली क्षेत्रमा आज वर्षा र हिमपात हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ।
हाल पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने तराईमा आंशिक बदली देखिएको छ। बिहीबार राति कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भएको थियो।
शुक्रबार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। कोसी प्रदेशका पहाडी तथा तराई क्षेत्र र अन्य पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम प्रायः सफा रहनेछ।
कोसी प्रदेशका पहाडी र हिमाली क्षेत्र तथा वाग्मती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ। साथै लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।
रातिको समयमा कोसी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। अन्य क्षेत्रहरूमा मौसम मुख्यतया सफा रहने विभागको पूर्वानुमान छ। साथै कोसी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा राति पनि एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ।
