धरान । चैत २६ र २७ गते धरानमा ‘कोशीमा बिहार उत्सव’ आयोजना हुने भएको छ।
उत्सव भानुचोकस्थित खुला क्षेत्रमा आयोजना हुने छ। पर्यटन कार्यालय धरानको प्रवर्द्धन, सुनसरी उद्योग वाणिज्य संघको संयोजन र होटल एसोसिएसन अफ धरान तथा होटल व्यवसायी समिति धरानको सहकार्यमा कार्यक्रम सञ्चालन गरिने आयोजकहरूले बताए।
कार्यक्रम संयोजक नारायण लिम्बूका अनुसार ‘पर्यटनका लागि प्रकृति, संस्कृति र व्यवसाय’ भन्ने नारासहित आयोजना हुने उक्त उत्सव कोशी प्रदेश सरकारले सन् २०८२ लाई पर्यटन वर्षका रूपमा मनाइरहेको सन्दर्भमा निजी क्षेत्रसँग सहकार्य गर्दै आयोजना गरिएको हो। यस वर्ष पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको मुख्य आधार मान्दै विकासको वर्षका रूपमा अघि बढाइएको उनले बताए।
उत्सव विशेष गरी भारतको बिहार राज्यबाट आउने पर्यटकलाई लक्षित गर्दै सीमापार पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने छ। कार्यक्रममा पर्यटन, कला, संस्कृति र व्यवसायलाई एकै थलोमा प्रस्तुत गरिनेछ।
आयोजकका अनुसार उत्सवमार्फत बिहारका पर्यटकहरूलाई धरान र कोशी करिडोर क्षेत्रको संस्कृति, खानपान र स्थानीय जीवनशैलीसँग परिचित गराउने लक्ष्य राखिएको छ। त्यस्तै, सीमापारि र स्थानीय उद्योगी–व्यवसायीबीच व्यापार र लगानीका सम्भावनाहरूबारे छलफल र सहकार्य बढाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा बिहारबाट पर्यटनकर्मी, पत्रकार, कलाकार र विद्यालय सञ्चालकहरूको सहभागिता रहनेछ। दुई देशका कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिने, कला कार्यशाला सञ्चालन गर्ने, पर्यटन प्रवर्द्धन कार्यक्रम तथा विविध खानाका स्टल राखिने जनाइएको छ।
उत्सव केन्द्रित भए पनि यसको उद्देश्य समग्र कोशी करिडोर क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नु रहेको आयोजकले बताएका छन्।
