






धरान । धरान उपमहानगरपालिकामा मेयर हर्कराज राई (हर्क साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघाबीचको गहिरो द्वन्द्वले नगरको प्रशासनिक गतिलाई पूर्ण रूपमा ठप्प पारेको छ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट असार १० गतेभित्र सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यता भए पनि दुई नेताबीचको मनमुटावका कारण बजेट अझै अन्योलमा छ।
मेयर र उपमेयरबीचको यो द्वन्द्व अब कार्यशैलीको असहमति मात्र नभई प्रतिष्ठा र अहङ्कारको लडाइँमा परिणत भएको देखिन्छ। सार्वजनिक हितभन्दा व्यक्तिगत प्रभाव र समर्थनको खोजीमा सीमित यो झगडाले धरानको विकास योजनामा गम्भीर प्रश्नचिह्न खडा गरेको छ।
स्थानीय सरकारको नेतृत्वमा यस्तो चिसोपन सार्वजनिक हुनु विरलै देखिन्छ, तर धरानमा यो सामान्य जस्तै बनेको छ। एकले अर्कोको प्रस्ताव अस्वीकार गर्ने, समितिको बैठक बहिष्कार गर्ने र सामाजिक सञ्जालमा आरोप–प्रत्यारोपमा उत्रिने जस्ता व्यवहारले नगर सरकारलाई संस्थागत रूपमा असफल बनाउने खतरा बढेको छ।
उपमेयर अइन्द्रबिक्रम बेघाका अनुसार, मेयर साम्पाङले कामभन्दा प्रचारलाई बढी महत्त्व दिन्छन् र बैठक बस्न टार्न खोज्छन्। “सीमा निर्धारण समिति बस्न नसक्दा हामीले बजेट कसरी बनाउने? म त बजेट ल्याउनका लागि तयार छु,” बेघाले भने।
उता, मेयर साम्पाङ पनि पछि हट्ने पक्षमा छैनन्। उनका निकटवर्तीहरूका अनुसार, उपमेयर आफैं प्रक्रियामा बाधा पुर्याएर त्यसको दोष अरूलाई दिन खोजिरहेका छन्।
नगरपालिकाको बजेट तयार गर्नका लागि स्रोत अनुगमन समिति, बजेट तर्जुमा समिति, सीमा निर्धारण समिति र राजस्व परामर्श समितिको बैठक अनिवार्य हुन्छ। तर, यी कुनै पनि समितिले अहिलेसम्म बैठक बस्न सकेका छैनन्। जनप्रतिनिधिहरूको असहयोग र संवादहीनताले गर्दा समितिहरू निष्क्रिय बन्न पुगेका छन्।
केही जनप्रतिनिधिहरूले यी दुई जनाको लडाइँले नगर नै बन्धक बनेको र धरानको साखमा धक्का लागेको बताएका छन्। उनीहरूले तत्काल सहमति गरेर बजेट ल्याउन नेतृत्वलाई आग्रह गरेका छन्।
उपमहानगरको बजेट समयमै आउन नसक्दा बहुवर्षीय योजना, पूर्वाधार विकास, सामाजिक कार्यक्रम, शिक्षा, स्वास्थ्य तथा कर्मचारी प्रशासनसमेत प्रभावित भएको छ।
प्रमुख प्रशासकीय अधिकृत अम्बिका चौलागाईंले यसबाट गम्भीर असर परेको बताउँदै जनप्रतिनिधिहरूबिच सहमति निर्माणको प्रयास भइरहेको जानकारी दिए। “विकास योजनामा समयमै सम्झौता नहुँदा कर्मचारीको तलब, राजस्व सङ्कलन, निर्माण प्रक्रिया सबैमा प्रभाव परिरहेको छ,” चौलागाईंले भने।
धरानमा नेतृत्वद्वयको झगडा केवल अहङ्कारको विषय मात्रै नभई आन्तरिक राजनीतिक दाउपेच, समर्थन गुट र लोकप्रियताको प्रतिस्पर्धा पनि बनेको देखिन्छ। स्रोतहरूका अनुसार दुवै जनाले आ-आफ्ना समर्थन समूह निर्माण गरी आफ्नो प्रभाव जमाउन खोजिरहेका छन्। यसै प्रतिस्पर्धाले नगरको साझा हितलाई बिर्सन पुगेको विश्लेषकहरूको भनाइ छ।
धरानका जनताले २०८२/०८३ को बजेटबाट पूर्वाधार विस्तार, सडक मर्मत, खानेपानी, शिक्षा तथा स्वास्थ्यमा सुधारजस्ता नयाँ योजनाहरूको अपेक्षा गरेका थिए। तर, नेतृत्वको असहयोगका कारण ती योजनाहरू अहिलेसम्म कागजमै सीमित छन्।