






धरान । धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ का लागि संशोधन गरिएको बजेट कार्यपालिकाको शुक्रबार बसेको बैठकबाट सर्वसम्मत रूपमा पारित भएको छ। यससँगै पूर्व अल्पमतमा पारित बजेटलाई बहुपक्षीय सहमतिमा पूर्णता प्रदान गरिएको हो। बैठकमा बजेटको सिलिङ पनि संशोधन गरिएको छ।
संशोधित बजेटमा ‘मेयर र उपमेयर भिजन कोष’ को नाम परिवर्तन गरी ‘नगर भिजन कोष’ राखिएको छ। नगर प्रमुख हर्क साम्पाङले नै नाम परिवर्तनको प्रस्ताव राखेका थिए, जसलाई एमालेका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूले समर्थन गरेपछि बैठकले दुवै कोषलाई ‘नगर भिजन’ शीर्षकमा रूपान्तरण गर्ने निर्णय गरेको हो।
यसअघि अल्पमतले पारित गरेको बजेटमा पूँजीगत खर्चमा १० प्रतिशत कटौती गरिएको छ। घाटा न्यूनीकरणका लागि पुँजीगत बजेटमा कटौती गरिएको नगर प्रमुख साम्पाङले जानकारी दिए। बैठकमा एमाले संसदीय दलकी उपनेता सावित्री परियारले पूँजीगत बजेटमा १० प्रतिशत कटौती गर्न प्रस्ताव राखेकी थिइन्, जुन प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो।
बजेटमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न प्रमुख दलहरूबीच छलफल भएको थियो। छलफलमा कांग्रेस, एमाले, माओवादी, जसपा लगायत दलका नगर नेताहरू सहभागी थिए। कांग्रेस सभापति श्याम पोखरेलले नगर प्रमुखसँग छलफलको पहल लिएको र त्यसले सकारात्मक परिणाम दिएको बताएका छन्।
बैठकपछि उपप्रमुख अइन्द्रविक्रम बेघाले नगर प्रमुख साम्पाङमाथि कटाक्ष गर्दै आफ्नो योजनालाई बेवास्ता गर्दै घुँडा टेकेको टिप्पणी गरे। उनले प्रस्तावहरू सजिलै पन्छाउने प्रवृत्तिलाई आलोचना गर्दै निर्णय प्रक्रियामा असहमति जनाए।
विगतमा वडास्तरीय योजनामा बजेटको सुनिश्चितता नहुँदा योजनाहरू रोकिएका थिए भन्ने गुनासो गर्दै धरान–१७ का अध्यक्ष मनोज भट्टराईले मेयरका योजनामा भने स्रोत सुनिश्चितता गरिने परम्परालाई अन्त्य गर्नुपर्ने बताए। उनले संशोधित बजेट अन्तर्गत रातो किताबमा समेटिएका सबै योजनाहरू पूर्णरूपमा कार्यान्वयन हुने स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने माग गरे।
बैठकले एमालेको बुँदागत सुझाव समेटेर नीति तथा कार्यक्रम संशोधन गर्ने र त्यसलाई अर्को बैठकमा पारित गर्ने निर्णय पनि गरेको छ। अर्को कार्यपालिका बैठक आइतबार दिउँसो २ बजे बस्नेछ। उक्त बैठकमा नीति तथा कार्यक्रम संशोधन, राजस्व पुनरावलोकनलगायत विषयमा छलफल हुनेछ।
त्यस्तै, कार्यपालिका बैठकले नगर सभा भदौ २६ गते दिउँसो १ बजे उपमहानगरपालिकाको कार्यालय परिसरमै गर्ने निर्णय गरेको छ।
यसैबीच, पालिका गानसम्बन्धी प्रस्तावमा विवाद देखिएको छ। इटहरीकी स्रष्टा टिका आत्रेयको सिर्जनामा ‘श्रमिक’ शब्द समेटिएको गीतलाई मेयर साम्पाङले ‘श्रमदाता’ शब्दमा परिमार्जन गरी रेकर्ड गराएपछि विवाद भएको हो। स्रष्टाले असन्तुष्टि जनाएपछि उपमेयर र वडाध्यक्षहरूले उक्त एजेन्डा स्थगित गर्न आग्रह गरेका थिए। कार्यपालिकाले स्रष्टासँग सहमति लिएर मात्र पालिका गानसम्बन्धी निर्णय पारित गर्ने अडान लिएको छ। अन्ततः मेयर साम्पाङले स्रष्टासँग छलफल गर्ने प्रतिबद्धता जनाउँदै सो एजेन्डा हाललाई स्थगित गरिएको हो।