विराटनगर । विराटनगरमा सिटी सफारी सञ्चालनलाई व्यवस्थित बनाउन कडाइ गरिने भएको छ।
अबदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) भएका चालकले मात्रै सिटी सफारी चलाउन पाउने व्यवस्था लागू गर्ने तयारी गरिएको हो।
शुक्रबार जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगरमा आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस विषयमा स्पष्ट रूपमा जोड दिइएको थियो। कार्यक्रममा सहभागी सरोकारवाला निकायहरूले बिना लाइसेन्स सिटी सफारी सञ्चालन गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न कडा कदम चाल्नुपर्ने बताएका छन्।
यातायात व्यवस्था कार्यालय कोशी, विराटनगरमार्फत सिटी सफारी चालकलाई लाइसेन्स उपलब्ध गराइने व्यवस्था गरिएको छ। साथै, ट्राफिक कार्यालयले ‘सवारी चालक’ उल्लेख गरिएको ज्याकेट अनिवार्य रूपमा लगाउनुपर्ने नियम पनि लागू गर्ने भएको छ।
अब लाइसेन्स नलिएका वा ट्राफिक कार्यालयले उपलब्ध गराएको ज्याकेट नलगाएका चालकलाई सिटी सफारी चलाउन नदिने तयारी गरिएको छ। सम्बन्धित निकायहरूले लाइसेन्स नलिएसम्म सवारी नचलाउन चालकहरूलाई सचेत गराउँदै आएका छन्। नियम उल्लंघन गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपाने, विराटनगर महानगरपालिकाका प्रहरी प्रमुख राजन पौडेल लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सो अवसरमा सहभागी सिटी सफारी चालकहरूलाई ट्राफिक कार्यालयले ‘सवारी चालक’ लेखिएको ज्याकेट समेत वितरण गरेको जनाएको छ।
