विराटनगर । करिब २४० यात्रु सवार इन्डोनेसियाली यात्रुवाहक जहाज जाभा सागरमा सम्पर्कविहीन भएको छ।
इन्डोनेसियाली खोज तथा उद्धार अधिकारीका अनुसार पूर्वी जाभा प्रान्तको सुराबायाबाट दक्षिण कालीमन्तानको बान्जारमासिनतर्फ गइरहेको जहाज यात्राका क्रममा सम्पर्कविहीन भएको हो।
जहाजको अन्तिम ज्ञात अवस्थिति बान्जारमासिनस्थित खोज तथा उद्धार केन्द्रबाट करिब ८० समुद्री माइल टाढा रहेको अधिकारीहरूले बताएका छन्। जहाजसँग सम्पर्क टुटेपछि खोजी तथा उद्धारका लागि एउटा उद्धार जहाज घटनास्थलतर्फ पठाइएको छ।
प्रारम्भिक जानकारीअनुसार सम्पर्क टुट्नुअघि जहाजले खराब मौसमको सामना गरेको थियो। समुद्री क्षेत्रमा देखिएको प्रतिकूल मौसमका कारण जहाज प्रभावित भएको हुन सक्ने अधिकारीहरूको भनाइ छ।
हालसम्म जहाजमा सवार यात्रुको अवस्था वा मानवीय क्षतिबारे कुनै जानकारी प्राप्त भएको छैन। उद्धार टोलीले जहाजको अवस्थिति पत्ता लगाउनुका साथै यात्रुको खोजीलाई तीव्र बनाएको जनाएको छ।
