वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र विश्वकै महत्वपूर्ण तेल पारवहन मार्ग हर्मुज जलसन्धि पूर्ण रूपमा खुला गर्न अल्टिमेटम दिएका छन्। तोकिएको समयसीमाभित्र मार्ग अवरोधरहित रूपमा सञ्चालन नभए इरानका विद्युत् गृहहरूमा आक्रमण गर्ने चेतावनी उनले दिएका हुन्।
सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै ट्रम्पले हर्मुज जलसन्धि तुरुन्तै कुनै पनि धम्की वा अवरोधबिना खुला नगरे अमेरिकी सेनाले इरानका विभिन्न पावर प्लान्टहरूमा प्रहार गर्ने बताएका छन्। उनले आक्रमणको सुरुवात सबैभन्दा ठूलो विद्युत् केन्द्रबाट हुने उल्लेख गरेका छन्।
विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने उक्त जलसन्धिमा इरानले अवरोध सिर्जना गरेको आरोप लगाउँदै ट्रम्पले कडा प्रतिक्रिया दिएका हुन्। उनले स्पष्ट रूपमा इरानको ऊर्जा पूर्वाधारलाई निशाना बनाइने संकेत गरेका छन्।
यसअघि पनि ट्रम्पले इरानको नेतृत्व र सैन्य क्षमता कमजोर भइसकेको दाबी गरेका थिए।
