Premier Cables
Premier Steel

कोशी प्रदेश

मुख्यमन्त्री सम्मेलन आजदेखि विराटनगरमा, संघीयता र विकास साझेदारीमा छलफल हुने

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज २७, २०८३  | बिहान ९:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने दुईदिने ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३’ आजदेखि विराटनगरमा सुरु हुँदैछ। कोशी प्रदेश सरकारको आयोजनामा हुने सम्मेलनमा संघीयताको सबलीकरण, अन्तरप्रदेश समन्वय र साझा विकासका सम्भावनाबारे छलफल हुनेछ।

सम्मेलनको पहिलो दिन प्रदेशहरूबीच अनुभव आदानप्रदान, विषयगत कार्यपत्र प्रस्तुति र विकास साझेदारीसम्बन्धी अन्तरक्रिया आयोजना गरिनेछ। उद्घाटन सत्रपछि सातै प्रदेशका प्रमुख उपलब्धि, नवीन अभ्यास र सिकाइबारे प्रस्तुति राख्ने कार्यक्रम छ। यस क्रममा ६ प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष र कोशी प्रदेशका मुख्यमन्त्रीका आर्थिक सल्लाहकारले आ–आफ्ना प्रदेशका सफल अभ्यास प्रस्तुत गर्नेछन्।

विज्ञापन

संघीयता र संस्थागत विकासमा बहस

पहिलो विषयगत सत्रमा संघीयताविद् डा. खिमलाल देवकोटाले ‘अन्तरप्रदेशीय समन्वय र सहकार्य, अन्तर्राष्ट्रिय अभ्यास, नेपालको संघीयता र संस्थागत विकासको मार्गचित्र’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नेछन्।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष विपिनराज निरौलाको अध्यक्षतामा सञ्चालन हुने सत्रमा संवैधानिक कानुनविद् डा. विपिन अधिकारीले टिप्पणी गर्नेछन्।

त्यसैगरी, आर्थिक साझेदारी र विपद् व्यवस्थापनसम्बन्धी अर्को सत्रमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. दिपेशकुमार घिमिरेले कार्यपत्र प्रस्तुत गर्नेछन्। ‘साझा समृद्धिका लागि अन्तरप्रदेशीय विकास साझेदारी : आर्थिक एकीकरण, कनेक्टिभिटी, प्राकृतिक स्रोत, विपद् व्यवस्थापन तथा नवप्रवर्तन’ विषयमा केन्द्रित उक्त सत्रको अध्यक्षता मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले गर्नेछन्। वित्त आयोगका पूर्वअध्यक्ष बालानन्द पौडेलले कार्यपत्रमाथि टिप्पणी गर्नेछन्।

घोषणापत्र र उद्योग–व्यवसायबारे छलफल

विषयगत सत्रपछि समानान्तर रूपमा दुईवटा कार्यक्रम सञ्चालन हुनेछन्। पहिलो हलमा सम्मेलनको घोषणापत्रमा समेट्नुपर्ने विषय पहिचान गरिनेछ भने दोस्रो हलमा मुख्यमन्त्री र स्थानीय उद्योगी–व्यवसायीबीच उत्पादन तथा निर्यात प्रवर्द्धनका विषयमा अन्तरक्रिया हुनेछ।

सम्मेलनको पहिलो दिनको कार्यक्रमअन्तर्गत साँझ इटहरीस्थित सोल्टी वेस्टइण्डमा सांस्कृतिक कार्यक्रमसहित रात्रिभोज आयोजना गरिनेछ।

सम्मेलनले प्रदेशहरूबीचको समन्वय र सहकार्यलाई प्रभावकारी बनाउँदै साझा समस्या समाधान, आर्थिक एकीकरण तथा विकासका अवसर विस्तार गर्न आवश्यक रणनीति पहिचान गर्ने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka