विराटनगर । बडादसैंअन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गाको तेस्रो स्वरूप देवी चन्द्रघण्टाको विधिपूर्वक पूजाआराधना गरिँदैछ। यस अवसरमा विराटनगरसहित देशभरका शक्तिपीठ, दसैंघर तथा घरघरका पूजाकोठामा बिहानैदेखि भक्तजनले श्रद्धापूर्वक देवीको पूजा गरिरहेका छन्।
नवरात्रको तेस्रो दिन देवी चन्द्रघण्टाको उपासना गरी शक्ति, साहस, शान्ति र कल्याणको कामना गर्ने धार्मिक परम्परा छ। धार्मिक मान्यताअनुसार देवीको मस्तकमा घण्टाको आकारको अर्धचन्द्र सुशोभित रहेकाले उहाँलाई चन्द्रघण्टा भनिएको हो।
मार्कण्डेय पुराणलगायत धार्मिक ग्रन्थमा देवी चन्द्रघण्टाको स्वरूपलाई स्वर्णिम वर्ण, करुणामयी र शक्तिशाली रूपमा वर्णन गरिएको छ। दस हात भएकी देवीले विभिन्न अस्त्रशस्त्र धारण गर्ने र सिंहमाथि सवार रहने धार्मिक विश्वास छ।
अन्याय र आसुरी प्रवृत्तिको नाश गर्ने देवी
धार्मिक तथा आध्यात्मिक दृष्टिले नवरात्रको तेस्रो दिन विशेष महत्त्वपूर्ण मानिन्छ। नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मीकि विद्यापीठका सेवानिवृत्त प्राध्यापक तोयराज नेपालका अनुसार नवरात्रमा देवीको उपासना गर्नुको मुख्य उद्देश्य आध्यात्मिक शक्ति सञ्चय गर्नुका साथै धार्मिक आस्था र परम्परालाई निरन्तरता दिनु हो।
देवी चन्द्रघण्टालाई अन्याय, अत्याचार र आसुरी प्रवृत्तिको विनाश गर्ने शक्तिका रूपमा पूजा गरिन्छ। भक्तजनले उहाँको आराधना गर्दा साहस, आत्मविश्वास र सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास राख्छन्।
ध्यान र साधनाको पनि विशेष महत्त्व
योग तथा ध्यानको परम्पराअनुसार नवरात्रको तेस्रो दिन मणिपुर चक्रमा ध्यान केन्द्रित गर्ने विधि रहेको धार्मिक मान्यता छ। यस अभ्यासले मनलाई एकाग्र बनाउन र आत्मिक शान्ति प्राप्त गर्न सहयोग पुग्ने विश्वास गरिन्छ।
बडादसैंका अवसरमा गरिने चन्द्रघण्टा देवीको पूजाले धार्मिक आस्था, सांस्कृतिक परम्परा र आध्यात्मिक साधनालाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। नवरात्रका नौ दिन नवदुर्गाका विभिन्न स्वरूपको पूजा गर्ने परम्पराअनुसार आज देशभर देवी चन्द्रघण्टाको आराधना गरिँदैछ।
