काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्ने बताएका छन् । विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि पहिलो पटक पार्टी कार्यालय सानेपामा आएर पदभार ग्रहणपछि उनले अब कांग्रेस नयाँ रूपमा रुपान्तरण भएर आएको भन्दै नेता र नेतृत्व दुवै बदलेको बताए ।
उनले भने, ‘हामीले कांग्रेसमा अहिले नेता मात्रै हाइन, नीति नै परिवर्तन गरेर ल्याएका छौँ । युवा पुस्ताको आवाज र अपनत्व बोक्ने गरी परिवर्तन भएर आएका छौँ । पार्टीलाई नवीकरण गर्यौं ।
विशेष महाधिवेशनले नयाँ पुस्ताको भावना, चाहना र जनतासँग अझै घनिष्ट भएर काम गर्ने अवसर दिएको बताउँदै उनले देशलाई सही दिशामा मार्ग निर्देश गरेको सुनाए।
उनले कांग्रेसको गौरवलाई अक्षुण्ण राख्दै जनतामा पुनर्जागरणको थालनी गरेको र यसले निर्वाचनमा पनि प्रभाव पार्ने बताए । उनले भने, ‘कांग्रेसको इतिहास र गौरवलाई जोगाउँदै नयाँ पुनर्जागरण भएको छ भने यसले आम मतदाताको निराशालाई आशामा बदलिएको छ। कांग्रेसमा पुनर्जागरणको ऊर्जा पैदा भएको छ। यसले धेरै ठूला उपलब्धिहरू दिलाउनेछ र देश अनि जनता लाभान्वित हुन्छन्।’
महामन्त्री घिमिरेले जेन-जी पुस्ता नेपालीको हरेक घरमा रहेको र यसले नेपाली इतिहासमा परिवर्तनका लागि ठूलो कुर्वानी गरेको भन्दै उनीहरू नै भविष्यको नेपाल भएको बताए ।
उनले जेन-जीका मागहरू जायज भएकाले नै भदौ २३ र २४ गते यो उथलपुथल भएको र राजनीतिक सुशासन कायम राख्ने कुरालाई गम्भीरतापुर्वक पार्टीले लिएको बताए ।
‘जेनजी विद्रोहको उद्देश्य देशमा सुशासन कायम, भ्रष्टाचार निर्मुल र सामाजिक सञ्जाल चल्न दिनु नै थियो । यी सबै माग र मुद्दालाई नेपाली कांग्रेसले बोकेर अगाडि बढेको छ’ उनले भने ।
महामन्त्री घिमिरेले सबै उम्मेदवारलाई जनतासँग सजीव सम्बन्ध राख्न, हरेक जनताको घरमा घरदैलोमा जान, उनीहरूको समस्या सुन्न आग्रह गरे । उनले भने, ‘सबै उम्मेदवारलाई जनताको कुरा सुन्न उनीहरूको घरदैलोमा गइ सजीव सम्बन्ध स्थापित गर्न आग्रह सबै उम्मेदवारसँग आग्रह गर्दछु। साथै कांग्रेस अहिले नीति र नेतृत्व बदलेर आएको कुरा राख्न, जनता नै देशको भविष्य भएकाले उनीहरूलाई आत्मनिर्भर बन्न र देशलाई बनाउन आएको कुरा राख्न सबै मतदाता बुझाउन आग्रह गर्दछु।’
