विराटनगर । धनुषाको मिथिला बिहारी नगरपालिकामा एक दम्पती शंकास्पद अवस्थामा मृत फेला परेका छन्। घटनामा उनीहरूका चार वर्षीय छोरा धारिलो हतियारको प्रहारबाट गम्भीर घाइते भएका छन्।
मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरस्थित माइतीघरमा बस्दै आएकी ३० वर्षीया रिनादेवी यादवको घाँटीमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा शव फेला परेको हो। घटनामा उनका चार वर्षीय छोराको तिघ्रामा समेत धारिलो हतियारले गम्भीर चोट लागेको बताइएको छ।
रिनाका श्रीमान् ३५ वर्षीय उमेश यादव भने ससुराली घरबाट करिब एक किलोमिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
प्रहरीका अनुसार मिथिला बिहारी नगरपालिका–४ भरतपुर स्थायी घर भएका उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका थिए। उनी श्रीमती र छोरालाई भेट्न शनिबार मथिलेश्वरस्थित ससुराली घर पुगेका थिए।
ससुराली पुगेको भोलिपल्टै श्रीमतीको हत्या भएको अवस्थामा शव फेला पर्नु, नाबालक छोरा घाइते हुनु र श्रीमान् पनि मृत भेटिनुले घटनालाई रहस्यमय बनाएको छ।
घटनाको कारणबारे विस्तृत विवरण खुल्न बाँकी छ। प्रहरीले घटनाको अनुसन्धान गरी घटनाक्रम र मृत्युको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ।
