गाजा । गाजामा इजरायली सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ। गाजाको स्थानीय प्रशासनले यसबारे जानकारी दिएको हो।
हमासअन्तर्गतको सिभिल डिफेन्स एजेन्सीका अनुसार शनिबार भएको पछिल्लो आक्रमणमा महिलाहरू र बालबालिकासमेत मारिएका छन्। एजेन्सीले खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसिरहेका टेन्टहरूलाई लक्षित गरी हेलिकोप्टरबाट आक्रमण गरिएको दाबी गरेको छ।
प्यालेस्टिनी पक्षले यो आक्रमणलाई यस महिनाको सुरुवातमा लागू भएको संघर्षविरामको दोस्रो चरणयताकै सबैभन्दा ठूलो आक्रमण भएको जनाएको छ।
यता, इजरायली सेनाले भने हमासतर्फबाट संघर्षविराम सम्झौता उल्लंघन भएको आरोप लगाउँदै त्यसको प्रतिकारस्वरूप विभिन्न स्थानमा आक्रमण गरिएको पुष्टि गरेको छ। इजरायल र हमास दुवैले एक–अर्कामाथि संघर्षविराम उल्लंघन गरेको आरोप लगाइरहेका छन्।
इजरायल–हमासबीचको पछिल्लो द्वन्द्व ७ अक्टोबर २०२३ मा हमासका लडाकूहरूले इजरायलमा आक्रमण गरेपछि सुरु भएको हो। उक्त आक्रमणमा १० नेपालीसहित करिब १ हजार २०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई हमासले बन्धक बनाएको थियो।
हमासको स्वास्थ्य विभागका अनुसार त्यसयता गाजामा इजरायलले सञ्चालन गरेको सैन्य अभियानमा ७१ हजार ६६० भन्दा बढी मानिसको ज्यान गइसकेको छ।
विभागका अनुसार १० अक्टोबर २०२५ मा पछिल्लोपटक लागू भएको संघर्षविरामपछि मात्र कम्तीमा ५०९ प्यालेस्टिनी र चार इजरायली सैनिकको मृत्यु भएको छ।
