विराटनगर । मोरङमा गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले शनिबार राति गोली चलाएको छ ।
विराटनगर । प्रहरीले गोली चलाएर ३ सय ३० किलो गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
गाँजा ओसारपसार एवं कारोबारमा संलग्नलाई नियन्त्रणमा लिने क्रममा नेपाल–भारत सीमा क्षेत्रनजिक जहदा गाउँपालिका–२ तारिगामा प्रहरीले राति १०ः३० बजेतिर हवाई फायर गरेको हो ।
नेपालबाट भारततर्फ गाँजा ओसारपसार भइरहेको सूचना प्राप्त हुनसाथ नियन्त्रणमा लिन मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा टोली परिचालन गरेका थिए ।
खनाल नेतृत्वको टोली पुग्दा टाउकोमा गाँजाको बोरा राखेर ओसारपसार गर्ने काम भइरहेको थियो । तर, ओसारपसारमा संलग्नहरु प्रहरीलाई देख्नसाथ गाँजाको बोरा फालेर फरार भएका थिए । त्यस क्रममा प्रहरीले ठूलो चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको हो ।
प्रहरीले हवाई फायर गरेर गाँजा ओसारपसारमा संलग्न भारतको अररिया चन्दामोहनका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई नियन्त्रणमा लिएको छ । दुवै जनालाई पक्राउ गरेर बरामद भएको गाँजासहित जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।
एसपी कटवालले गाँजा ओसारपसार गर्दै गर्दा हवाई फायर गरेर २ जना भारतीयलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जानकारी उनले दिए ।
दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।
