काठमाडौं । २२ करोड रुपैयाँ बजार मूल्य बराबरको साढे ५ किलो सेतो हेरोइनसहित एक भारतीय नागरिक नेपालमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ५२ वर्षीय रेवाज तिघरी रहेका छन् । उनलाई लागुऔषध नियन्त्रण ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनी गत कात्तिक २८ गते थाइल्याण्डबाट काठमाडौं आएका थिए । हवाई मार्ग हुँदै लागुऔषध ओसारपसार हुन सक्ने आशंकामा शंकास्पद व्यक्तिहरूको निगरानी तथा प्रोफाइलिङ गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।
लागुऔषध नियन्त्रण ब्युरोका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार तिघरी यसअघि दुई पटक नेपाल आइसकेका थिए । पहिलो पटक हवाई मार्गबाट र दोस्रो पटक भारतबाट स्थलमार्ग हुँदै नेपाल आएको खुलेको छ ।
उनले लाओस, जिम्बाबे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडियालगायत देशको भ्रमणसमेत गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनलाई अन्तर्राष्ट्रिय लागुऔषध तस्करी सञ्जालका मुख्य व्यक्तिमध्ये एक रहेको दाबी गरेको छ । उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत बरामद भएको छ ।
प्रहरीका अनुसार बरामद गरिएको साढे ५ किलो हेरोइनको बजार मूल्य करिब २२ करोड रुपैयाँ रहेको छ । उक्त लागुऔषध भारत पुर्याउने योजनासहित ल्याइएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।
