Premier Cables
Premier Steel

पर्यटन

भोजपुरको ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar आइतबार, जेठ ०४, २०८२  | बिहान ११:४१ बजे

भोजपुर । रामप्रसादराई गाउँपालिकामा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ भिर ओझेलमा परेको छ । प्रचारप्रसार अभावमा यो ऐतिहासिक धार्मिक क्षेत्र ओझेलमा परेको हो ।

गोल्मे राजा, गोल्मे रानीको किंवदन्ती जोडिएको यो ऐतिहासिक क्षेत्रले चर्चा पाउन नसकेको स्थानीयवासी पाण्डव राईले बताए । परापूर्वकालमा यो क्षेत्रमा गोल्मे राजा र गोल्मे रानीको बिहेका क्रममा बेहुलाबेहुलीसहित जन्ती अलप भएकाले यस स्थानको नाम ‘गोल्मे राजा, गोल्मे रानी भिर’ रहन गएको धार्मिक कथन रहेको उनको भनाइ छ ।

बिज्ञापन

अहिले पनि यहाँ जन्तीजस्तै आकारका लहरै ढुङ्गा, राजारानीको आकृति, बिहेमा प्रयोग भएका बाजागाजा, ढोला झ्याम्टा, राजारानी सवार घोडाको आकृति स्पष्ट रूपमा देख्न सकिने उहाँले बताए । ‘गोल्मे राजा, गोल्मे रानी एक ऐतिहासिक धार्मिक क्षेत्र हो’, उनले भने,

धेरै मानिसले यस स्थानको नाम सुनेको हुनुपर्छ । तर यो स्थानको धार्मिक महत्वसँगै ऐतिहासिक किंवदन्तीको विषयमा हामीले प्रचारप्रसार गर्न नसक्दा गुमनाम छ

उदयपुरको चौडण्डीगढीबाट गोल्मे राजा, गोल्मे रानीले बिहेको जन्ती लिएर धनकुटाको राजारानी पुर्याउने क्रममा यो स्थानमा आइपुग्दा कलियुग सुरु हुँदा राजारानीसहित जन्तीहरू अलप भएको किंवदन्ती रहेको स्थानीवासी राजेन्द्र राईले बताए । यहाँ रहेका ढुङ्गाका आकृतिले किंवदन्तीमा भनिएका कुरालाई पुष्टि गर्न मद्दत गर्ने उनको भनाइ छ ।

यहाँ पापद्वार, धर्मद्वार, बन्दुकको आकृति देखिने बन्दुके गहिरा, खड्कुले, गुन्टे ढुङ्गा, मालिगाईको आकृतिलगायत देख्न सकिने उनको भनाइ छ । यहाँ गोल्मे राजा र गोल्मे रानीका आकृतिका दुई ठूला ढुङ्गा रहेको रामप्रसादराई–६ का वडाध्यक्ष एकराज आचार्यले बताए ।

यो ऐतिहासिक धार्मिक क्षेत्र प्रचारप्रसार अभावमा ओझेलमा परेको उनको भनाइ छ । यो क्षेत्रको विकाससँगै प्रचारप्रचारमा स्थानीय सरकारले जोड दिएको अध्यक्ष आचार्यले बताए ।

“गोल्मे राजा, गोल्मे रानी क्षेत्र ओझेलमा परेको छ”, वडाध्यक्ष आचार्यले भन्नुभयो, “यो स्थानको देशविदेशमा जति चर्चा हुनुपर्ने त्यो हुन नसकेको अवस्था छ । स्थानीय सरकारले यो क्षेत्रको संरक्षणसँगै यहाँको ऐतिहासिक तथ्य तथा धार्मिक महत्वको विषयमा खोजी गरिरहेको छ ।”

गोल्मे राजा, गोल्मे रानीको काखमा अर्को धार्मिक गङ्गा खोलाको मुहान रहेको अध्यक्ष आचार्यले बताए । ढुङ्गाको कापबाट उम्रिएका तीनवटा पानीका ठूला मुहानमा कहिले पनि पानी नसुक्ने अध्यक्ष आचार्यको भनाइ छ । यो स्थानमा दर्शन गरेर मनोकाङ्क्षा सिद्ध हुने धार्मिक विश्वासले भक्तजन आउने उनको भनाइ छ ।

देशले नै चिन्नुपर्ने अनौठो प्रकृतिको धार्मिक तथा पर्यटकीय यो स्थल भौगोलिक विकटताका कारण पनि ओझेलमा परेको उनको भनाइ छ । गोल्मे राजारानी भिरको काखमा रहेका सबै मुहान कहिले नसुक्ने, वर्षात्को समयमा धमिलो नहुने तथा मुहानहरू दक्षिणबाट उत्तरतर्फ बगेकाले यसको छुट्टै महत्व रहेको वडाध्यक्ष आचार्यले बताए ।

पानीका मुहान नै दक्षिणबाट उत्तरतर्फ बग्ने भएकाले सबैलाई अचम्मित बनाउने उनको भनाइ छ । यहाँ आउने पर्यटकलाई लक्षित गरेर गोल्मेसम्म पुग्ने पदमार्ग निर्माण गर्ने योजना रहेको उनले बताए । वडाभित्र पर्ने सम्पूर्ण पयर्टकीय क्षेत्रको एकीकृत विकासका लागि सरकारको माथिल्लो निकायसँग पहलकदमी गरिरहेको वडाध्यक्ष आचार्यले बताए । रासस

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka