Premier Cables
Premier Steel

राष्ट्रिय

आईजीपी विवादमा सर्वोच्चको अन्तरिम आदेश दिन अस्वीकार, तीन आधार प्रस्तुत

Hamro Biratnagar News Channel Calendar बुधबार, मंसिर ०९, २०८३  | साँझ ६:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका पूर्व प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले दुवै पक्षका कानुन व्यवसायीको बहस सुनेपछि तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको हो।

विज्ञापन

अदालतले अन्तरिम आदेश जारी नगर्नुका पछाडि तीनवटा प्रमुख आधार प्रस्तुत गरेको छ।

पहिलो, सरकारले नियुक्त गरेका नयाँ प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले यसअघि नै नियुक्तिपत्र बुझेर कात्तिक १८ गतेदेखि पदभार ग्रहण गरिसकेको अवस्थालाई अदालतले आधार बनाएको छ। नयाँ आईजीपीले जिम्मेवारी सम्हालिसकेको अवस्थामा तत्काल अन्तरिम आदेश जारी गर्नु आवश्यक नदेखिएको अदालतको ठहर छ।

दोस्रो, नेपाल प्रहरीको नेतृत्वसँग सम्बन्धित विवाद सार्वजनिक सुरक्षा, शान्ति सुव्यवस्था र कानुन कार्यान्वयनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसलाई संवेदनशील रूपमा हेर्नुपर्ने अदालतको भनाइ छ।

तेस्रो, निवेदकले उठाएका कानुनी प्रश्न तथा मागदाबीको निरूपण विस्तृत सुनुवाइपछि मात्रै गर्न उपयुक्त हुने अदालतले जनाएको छ। तत्काल अन्तरिम आदेश जारी गर्दा सुविधाको सन्तुलनसमेत निवेदकको पक्षमा नरहेको अदालतको निष्कर्ष छ।

यद्यपि, सर्वोच्चले मुद्दालाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएको छ। सम्बन्धित विपक्षीहरूबाट लिखित जवाफ प्राप्त भएको सात दिनभित्र अन्तिम सुनुवाइका लागि पेसी तोक्न अदालत प्रशासनलाई आदेश दिइएको छ।

त्यसैगरी, मुद्दाको पेसी तोकिएपछि कुनै पनि पक्षले सुनुवाइ स्थगित गर्न नपाउने व्यवस्था पनि आदेशमा उल्लेख गरिएको छ।

सरकारले कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेपछि उनले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सरकारले मोबाइल फोन विवरण सार्वजनिक भएको तथा इनाम सपकोटासँग सम्बन्धित विषयलाई आधार बनाएर कार्कीलाई पदबाट हटाउने निर्णय गरेको थियो।

कार्कीको स्थानमा अतिरिक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो।

रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्तासहितका कानुन व्यवसायीले बहस गरेका थिए भने सरकार, नवनियुक्त आईजीपी र प्रहरी प्रधान कार्यालयका तर्फबाट पनि कानुन व्यवसायीहरूले अदालतमा आफ्नो पक्ष प्रस्तुत गरेका थिए।

सर्वोच्च अदालतले तत्कालका लागि कार्कीलाई पुनर्बहाली गर्ने अन्तरिम आदेश दिन अस्वीकार गरे पनि सरकारको निर्णय कानुनसम्मत थियो वा थिएन भन्ने अन्तिम टुंगो भने अब हुने विस्तृत सुनुवाइबाट लाग्नेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka