पाँचथर । पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्य पाँचथरको फालेलुङ गाउँपालिका–४ स्थित चारराते क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ। प्राकृतिक सौन्दर्य, हिमशृङ्खलाको मनमोहक दृश्य र उच्च पहाडी भूभागको अनुभव लिन नेपाल तथा भारतबाट दैनिक सयौँ पर्यटक चारराते पुग्न थालेका छन्।
फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्थाका अध्यक्ष शिल्प साम्पाङ राईका अनुसार अहिले फालेलुङको बाटो हुँदै दैनिक ३०० देखि ५०० जनासम्म पर्यटक चारराते पुगिरहेका छन्।
समुद्री सतहबाट करिब ३ हजार ५०० मिटर उचाइमा रहेको चाररातेबाट कञ्चनजङ्घा, कुम्भकर्णसहित नेपाल, भारतको सिक्किम र भुटानका हिमालहरूको दृश्यावलोकन गर्न सकिन्छ। विशेषगरी यहाँबाट देखिने आकर्षक सूर्यास्त पर्यटकको मुख्य आकर्षण बनेको छ।
चौँरी तथा भेडीगोठको अवलोकन, फराकिला हरिया पाटन र प्राकृतिक वातावरणमा रमाउन पाइने भएकाले पनि पर्यटकको आकर्षण बढेको हो। नयाँ वर्षमा आयोजना हुने चौँरी महोत्सव, चलचित्र ‘उनको स्वीटर’ को छायाङ्कन तथा सामाजिक सञ्जालमा भएको प्रचारले चाररातेको पर्यटन प्रवर्द्धनमा थप सहयोग पुर्याएको स्थानीय व्यवसायी बताउँछन्।
चारराते आसपासका नेपालको झन्डा आकारको झन्डा पोखरी, जलजले पोखरी र भैँसेपोखरीसमेत पर्यटकका आकर्षक गन्तव्य बनेका छन्। पाँचथरको फिदिमबाट प्राङबुङ हुँदै तथा इलामको सन्दकपुरबाट पनि यहाँ पुग्न सकिन्छ। अहिले दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनबाटै चारराते पुग्न सकिने भएकाले पर्यटकको सङ्ख्या बढेको हो।
पर्यटकको आगमन बढेसँगै स्थानीय व्यवसायीमा पर्यटनबाट आम्दानी बढ्ने आशा पलाएको छ। तर, सीमित होमस्टे तथा गोठबास, खानेपानी र विद्युत्को अभाव, सडकको जोखिम तथा फोहोर व्यवस्थापन प्रमुख चुनौती बनेका छन्।
पर्यटन व्यवसायीका अनुसार आवश्यक पूर्वाधार विकास गर्न सके भारतबाट आउने पर्यटकलाई समेत नेपालको बाटो हुँदै चारराते पुर्याउन सकिनेछ। यसले पाँचथरको सदरमुकाम फिदिमसहित आसपासका बजारमा पर्यटन व्यवसाय विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हालै ‘कलेजी : उनको स्वीटर’ चलचित्रको छायाङ्कनका क्रममा विपीन कार्की र मिरुना मगरलगायत कलाकार चारराते पुगेपछि यस क्षेत्रप्रति पर्यटकको चासो थप बढेको स्थानीयको भनाइ छ।
