काठमाडौं । विराटनगर किंग्सविरुद्ध पाँच विकेटको सहज जित निकाल्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफ सम्भावनालाई कायम राखेको छ । प्रतियोगितामा लुम्बिनीको यो तेस्रो जित हो ।
यसअघि पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको लुम्बिनीले त्यसपछिका तीन खेलमा लगातार हार बेहोरेको थियो ।
लुम्बिनीले दोस्रो खेलमा कर्णालीविरुद्ध नौ विकेटको, तेस्रो खेलमा काठमाण्डूविरुद्ध २२ रनको र चौथो खेलमा सुदूरपश्चिमविरुद्ध सात विकेटको हार बेहोरेको थियो । पाँचौँ खेलमा भने लुम्बिनीले पोखरा एभेन्जर्सविरुद्ध तीन विकेटको जित निकालेको थियो ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा विराटनगरले प्रस्तुत गरेको १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।
लुम्बिनीको जितमा ओपनर डी‘एर्सी शर्टले सर्वाधिक ५७ रन बनाए । डी‘एर्सीले ४४ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । ६६–३ को स्थितिबाट उनले चौथो विकेटका निम्ति निरोसान डिकवेलासँग ४६ रनको साझेदारी गर्दै लुम्बिनीको मध्यक्रम सम्हालेका थिए ।
डिकवेलाले २२ बलमा दुई चौका र एक छक्कासहित अविजित २९ रन थपे । सन्दीप जोराले १५ बल खेल्दा तीन चौका र एक छक्का प्रहार गर्दै २४ रन बनाए । दिलिप नाथले १६ रन बनाए । ओपनर सुमित महर्जनले १० रन जोडे । कप्तान रोहितकुमार पौडेल भने ‘डक’ भए ।
विराटनगरका कप्तान सन्दीप लामिछाने र सुवास भण्डारीले समान दुई विकेट लिए । बसिर अहमेदको नाममा एक विकेट रह्यो ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४४ रनको योगफल खडा गरेको थियो ।
विराटनगरका लोकेश बमले सर्वाधिक ३५ रन बनाए । साम हेजलेटले २७ रन थपे । यी दुईले १५–२ को स्थितीबाट तेस्रो विकेटका निम्ति ५५ रनको साझेदारी गर्दै विराटनगरको इनिङ सम्हालेका थिए ।
बसिर अहमेदले १९ बलमा एक चौका र एक छक्कासहित २८ रन थपे । मर्चेन्ट डी लांगे १० रनमा अविजित रहे ।
विराटनगर किंग्सबाट पहिलो पटक मैदान उत्रिएका चर्चित दक्षिण अफ्रिकी ब्याटर फाफ डू प्लेसिसले १२ रनमात्र बनाउन सके । लुम्बिनीका अभिषेश गौतमले तेस्रो ओभरको अन्तिम बलमा डू प्लेसिसलाई विकेटकिपर निरोशन डिकवेलाबाट स्टम्प गरे । नौ बल खेलेका डू प्लेसिसले दुई चौका प्रहार गरे ।
प्रतिश जिसीले ११ रन बनाए । ओपनर जर्ज मुन्से ‘डक’ भए । नारायण जोशीले पाँच रन थपे । कप्तान सन्दीप लामिछान एक बलमा छक्कासहित ६ रनमा अविजित रहे ।
लुम्बिनीका शेर मल्लले तीन विकेट लिए । चार ओभरको आफ्नो स्पेलमा शेरले विराटनगरका जर्ज मुन्से, नारायाण जोशी र साम हेजलेटलाई पभेलियनको दिशा देखाए ।
योसँगै शेर एनपीएलमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा आएका छन् । शेरसँगै सुदूरपश्चिमका अभिनाश बोहराले समान ११ विकेट लिएका छन् ।
रुबेन ट्रम्पेलमन, अभिषेश गौतम र जेजे स्मिथको नाममा समान एक विकेट रह्यो ।
प्रतियोगितामा विराटनगरको भने यो दोस्रो हार हो । यो हारसँगै विराटनगरले भने लिग चरणको अन्तिम खेलअगावै प्लेअफ पुग्ने सम्भावना खेर फालेको छ ।
विराटनगरले यसअघि पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको, काठमाण्डू गोर्खाजविरुद्ध पाँच विकेटको र जनकपुर बोल्ट्सविरुद्ध नौ रनको जित निकालेको थियो ।
चौथो खेलमा चितवन राइनोजसँग ४८ रनले पराजित भएको विराटनगरले पाँचौँ खेलमा कर्णाली याक्सविरुद्ध तीन विकेटको जित निकालेको थियो ।
