Premier Cables
Premier Steel

खेलकुद

पहिलो जितको खोजीमा विराटनगर र चितवन

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक ११, २०८३  | बिहान ९:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा दिउँसो १२ः३० बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्यसहित मैदान उत्रिनेछन् ।

स्वदेशी तथा विदेशी खेलाडीको सम्मिश्रण रहेका दुवै टोलीबीचको प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको छ । अघिल्ला सिजनका नतिजा र यसपटक टोलीमा भएका परिवर्तनले पनि खेललाई चासोपूर्ण बनाएको छ ।

विज्ञापन

एनपीएलको पहिलो सिजन लिग चरणबाटै बाहिरिएको विराटनगरले दोस्रो सिजनमा सुधारिएको प्रदर्शन गर्दै प्लेअफसम्मको यात्रा तय गरेको थियो । यसपटक पनि श्रीलंकाका धम्मिका प्रसादले टोलीको प्रशिक्षण सम्हालेका छन् ।

विराटनगरको प्रमुख आकर्षण वेस्ट इन्डिजका आक्रामक अलराउन्डर आन्द्रे रसेल हुनेछन् । विश्वका विभिन्न फ्रेन्चाइज लिगमा अनुभव बटुलेका रसेल ब्याटिङ र बलिङ दुवैमा प्रभाव पार्न सक्ने खेलाडी हुन् । उनको प्रदर्शन टोलीका लागि महत्त्वपूर्ण रहनेछ ।

विराटनगरले अमेरिकी अलराउन्डर शुभम रन्जानेलाई निरन्तरता दिएको छ । श्रीलंकाका चरिथ अस्लंका र एन्जेलो म्याथ्युजको आगमनले टोलीको ब्याटिङलाई थप बलियो बनाएको छ । घरेलु खेलाडी लोकेश बम र बसिर अहमदबाट पनि टोलीले महत्त्वपूर्ण योगदानको अपेक्षा गरेको छ । सेहान जयसूर्याले समेत ब्याटिङ र बलिङ दुवैमा भूमिका निर्वाह गर्न सक्नेछन् ।

बलिङतर्फ कप्तान सन्दीप लामिछानेको नेतृत्वमा प्रतिस जिसी र नरेन साउदले साथ दिनेछन् । प्रतियोगिताको तयारीका लागि विराटनगरले भारतमा अभ्यास गरेको थियो । रणजी ट्रफी खेलेका खेलाडीसँग प्रशिक्षण गर्नुका साथै स्थानीय क्लबसँग अभ्यास खेल खेलेको टोलीले त्यसबाट राम्रो नतिजा निकाल्ने अपेक्षा गरेको छ ।

यता, पहिलो सिजन एलिमिनेटरसम्म पुगेको चितवन राइनोज दोस्रो सिजनमा भने लिग चरणबाटै बाहिरिएको थियो । यसपटक उपाधि लक्ष्यसहित मैदानमा उत्रिन लागेको चितवनले पूर्वखेलाडी सोहेल तानवीरलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । तानवीरले यसअघि एनपीएलका दुवै सिजन चितवनबाट खेलेका थिए ।

चितवनको ब्याटिङमा इंग्ल्यान्डका रवि बोपारा मुख्य खेलाडीका रूपमा रहनेछन् । अघिल्ला दुई सिजनमा प्रभावशाली प्रदर्शन गरेका बोपारालाई डेविड मलान, देव खनाल र दीपक बोहराले साथ दिनेछन् ।

टोलीको अर्को प्रमुख हतियार जिम्बाब्वेका अलराउन्डर सिकन्दर रजा हुन् । टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा शीर्षस्थानमा रहेका रजाबाट चितवनले ब्याटिङ र बलिङ दुवैमा योगदानको अपेक्षा गरेको छ ।

बलिङ पक्षलाई मजबुत बनाउन चितवनले क्यानडाका कलिम सानालाई अनुबन्ध गरेको छ । उनलाई रिजन ढकाल, रञ्जित कुमार र कमलसिंह ऐरीजस्ता खेलाडीले साथ दिनेछन् । कप्तान कुशल मल्लले अलराउन्डरको भूमिका निर्वाह गर्दा विवेककुमार यादवको आगमनले टोलीलाई थप विकल्प उपलब्ध गराएको छ ।

हेड टु हेडमा बराबरी

एनपीएलमा विराटनगर र चितवनबीच अहिलेसम्म दुई खेल भएका छन् । दुवै टोलीले एक–एक खेल जितेकाले आपसी प्रतिस्पर्धामा उनीहरूको अवस्था बराबरी छ ।

पहिलो सिजनको लिग चरणमा विराटनगरले चितवनलाई ५१ रनले पराजित गरेको थियो । दोस्रो सिजनमा भने चितवनले बदला लिँदै विराटनगरमाथि ४४ रनको जित निकालेको थियो ।

आजको खेलमा दुवै टोली आपसी प्रतिस्पर्धाको इतिहासमा अग्रता लिनुका साथै नयाँ सिजनको सुरुआत जितबाट गर्ने लक्ष्यमा हुनेछन् ।

*** समाप्त ***
Bagmati
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka