विराटनगर । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र श्रेष्ठले कांग्रेस र एमाले थारो गाई जस्तै भईसकेको आरोप लगाएका छन् ।
विराटनगरमा आज आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै श्रेष्ठले एमाले र कांग्रेसबाट जनताले धेरै अपेक्षा गर्न नसक्ने दाबी गरे । उनले भने,‘‘कांग्रेस एमाले थारो गाई जस्तै भईसकेका छन् ।’’ उनले धेरैवटा पार्टी मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेपछि धेरै दलमा भुइँचालो गएको दाबी गरे ।
राजनीतिमा अग्रगामी काम गर्ने भन्दै उनले सबै कम्युनिष्ट पार्टीका धारहरु आफ्नो पार्टीमा समाहित भएको दाबी गरे ।
जनयुद्धकै कारण देशमा गणतन्त्र सम्भव भएको बताउँदै उनले पार्टी एकीकरणमा १७ हजारको रगत लागेको भन्दै आरोप लगाउनु अनुचित भएको बताए । जनयुद्ध सुशासन र समृद्धिको लागि भएको उनको दाबी छ ।
कुनै एक सरकारले पनि पाँच वर्षको अवधि पार गर्न नसकेको भन्दै संसदीय व्यवस्थाको साटो समृद्धिका लागि अब स्थिर सरकार चाहिएको र त्यो नेपाली कम्युनिष्ट पार्टी भएको बताए ।
