






विराटनगर । अविरल वर्षासँगै खोलानालामा आएको बाढीले सुनसरी-मोरङ औद्योगिक कोरिडोरका दुई दर्जनभन्दा बढी उद्योग प्रभावित भएका छन्।
लगातारको वर्षाले बाढी पस्दा उत्पादनदेखि मेसिनरीसम्ममा ठूलो क्षति पुगेको छ। मोरङ व्यापार संघका अनुसार प्रारम्भिक रूपमा ५० करोड रुपैयाँभन्दा बढीको नोक्सानी भएको अनुमान गरिएको छ।
दुहबी नगरपालिका-८ स्थित अरिहन्त मल्टिफाइबर्समा टेंग्रा खोलाको बाढी पसेपछि उद्योगको ७० मिटर लामो पर्खाल भत्किएको छ।
उद्योगका प्रमुख कार्यकारी अधिकृत गोविन्द बजगाईंका अनुसार कच्चा पदार्थ, तयारी सामग्री र मेशिनरीमा गरी करिब ३० करोड रुपैयाँ बराबरको क्षति भएको छ। करिब ४२०० मजदूरले दैनिक तीन सिफ्टमा काम गर्ने यो उद्योग अहिले पूर्ण रूपमा बन्द छ। उद्योगले दैनिक ८५-९० मेट्रिक टन जुटजन्य सामग्री उत्पादन गर्दै आएको थियो।
दुहबीकै क्वालिटी बिस्कुट, पशुपति सिनप्याक, प्रगति टेक्स्टाइल, बाबा मैदा मिल, हुलास वायर लगायतका उद्योगमा पनि बाढी पस्दा उत्पादन पूर्णरूपमा बन्द भएको छ।
कटहरी गाउँपालिका क्षेत्रका उद्योगहरू पनि डुबानमा परेका छन्। यद्यपि त्यहाँका मेशिनरीमा खासै क्षति नभएको उद्योग संगठन मोरङका उपाध्यक्ष विपिन काबराले जानकारी दिए। उनले हुलाकी सडक अग्लो र उद्योगको बेस होचो बनाइएकाले वर्षातमा पानी जम्ने समस्या देखिएको बताए।
सतर्कताले बच्यो रिलायन्स
गत वर्ष पानीले उत्पादनमा असर पुगेको रिलायन्स स्पिनिङ मिलले यसपटक भने समयमै सतर्कता अपनाएकाले क्षति हुनबाट जोगिएको छ।
मिलका महाप्रबन्धक महेश पोखरेलका अनुसार गोदाम र मेशिनरी सुरक्षित स्थानमा सारिएको थियो। दशैंको बिदाका कारण मिल पूर्ण रूपमा सञ्चालनमा नरहेकाले पनि क्षति न्यून भएको हो।
हुलास वायरका प्रमुख लेखा अधिकृत आशुतोष यादवले सडक अग्लो र उद्योगको सतह होचो भएकाले पानी जम्ने समस्या भएको बताए।
उनले उद्योगको चारैतिर पानी जमेको र पम्पमार्फत निकाल्ने प्रयास भइरहेको जानकारी दिए। सरकारले औद्योगिक क्षेत्र घोषणा गरे पनि पूर्वाधार विकासमा ध्यान नदिएकोप्रति उनले असन्तुष्टि जनाए।
मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साहले सबै उद्योगको स्थलगत अध्ययनपछि मात्रै क्षतिको यकिन विवरण आउने बताए। तर प्रारम्भिक रूपमा ५० करोडभन्दा बढीको नोक्सानी भएको दाबी गरे।
उनले भौतिक पूर्वाधारको विकास गर्दा उद्योगलाई प्राथमिकतामा नराखेकाले हरेक वर्ष उद्योगहरूले डुबान र प्राकृतिक प्रकोपको मार खेप्नुपरेको बताए।